महाधिवेशनमा पराजितपछि विष्णु रिमाल : ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय’

लोकपथ
301
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्य दुबैमा पराजित भएका पूर्व उपमहासचिव विष्णु रिमालले आफ्नो पराजय अस्वाभाविक र चिन्ताको विषय नभएको बताएका छन् । 

लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको ‘किचेन क्याबिनेट’ मा रहेका काम गरेका रिमालले पराजयपछि आज शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय । यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन् ।’

कमरेड सम्बोधन गर्दै उनले भनेका छन्, ‘हाम्रो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन साँच्चै असाधारण रह्यो—गरिमा, उत्साह र सामूहिक उपलब्धिको गहिरो अनुभूतिसहित सम्पन्न भयो । तपाईंलाई विदितै छ, ११औँ केन्द्रीय समितिको नयाँ नेतृत्व चयनका क्रममा महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एक जना उपमहासचिव—म स्वयं—र एक जना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो । यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन् । हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ—पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात् गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु, र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु । यही भावनामा हामी सबैले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौँ ।

उनले अन्त्यमा भनेका छन्, ‘यहाँहरूका आत्मीय र उत्साहवर्धक शब्दहरूका लागि हृदयदेखि धन्यवाद, कमरेड । पार्टीभित्र मेरो औपचारिक भूमिका परिवर्तन भए पनि हाम्रो साझा संकल्प र कमरेड्ली भावना यथावत् छ । आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?