पद्मकन्या क्याम्पसका उपप्राध्यापकको दादागिरी, मदिराले मातेर आफ्नै सहकर्मीमाथि कुटपिट

लोकपथ
399
Shares

काठमाडौं । पद्मकन्या क्याम्पस, बागबजारमा उपप्राध्यापक पदमा रहेका एक जनाले आफ्नै सहकर्मीमाथि निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट अर्का उपप्राध्यापकको हातको हड्डीसमेत भाँचिएको छ । 

पद्मकन्या क्याम्पसका उपप्राध्यापक खुम प्रसाद शर्माले अर्का उपप्राध्यापक नीरज पन्तलाई कुटपिट गरी घाइते बनाएका हुन् । आफ्नै सहकर्मीबाट कुटपिट भएपछि पन्तले प्रहरी वृत्त गौशालामा उपप्राध्यापक शर्माविरुद्ध उजुरी दिएका छन् । 

आरोपित खुम प्रसाद शर्मा नेपाली कांग्रेसनिकट प्राध्यापक संघका सभापति हुन् भने नीरज पन्त पद्मकन्या बहुमुखी क्याम्पसमा क्रियाशील पेसागत प्राध्यापक संघका सचिव हुन् । पन्त क्याम्पसमा बिबिए कार्यक्रमका सह-निर्देशक पनि हुन् ।

घटना गत मंसिर २६ गतेको हो । चाबहिलमा रहेको स्मार्ट पार्टी प्यालेसमा एक भोजमा दुवै उपप्राध्यापक सहभागी भएका थिए । पार्टीमा पुगेका दुवै उपप्राध्यापकहरूले मदिरा सेवन गरेको भएपनि खुम प्रसाद शर्माले भने अत्यधिक मदिरा सेवन गरेका थिए । मदिरा सेवनले मातेका शर्माले एउटै क्याम्पसमा सहकर्मी रहेका उपप्राध्यापक नीरज पन्तमाथि लगातार कुटपिट गरेपछि अन्य सहकर्मी र पाहुनाले छुट्टाउनुपरेको थियो । शर्माको कुटपिटबाट उपप्राध्यापक पन्तको देब्रे हातको हड्डीसमेत फुटेको छ ।आफूमाथि कुटपिट भएपछि पन्तले प्रहरी वृत्त गौशालामा दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन् ।

प्राध्यापक संघमा हारेपछि रिस साँधियो
उपप्राध्यापक खुम प्रसाद शर्मा नेपाली काँग्रेसनिकट प्राध्यापक संघका आबद्ध छन् । गत भदौमा भएको संघको निर्वाचनमा स्वतन्त्र समूहबाट नीरज पन्त संघको सचिवमा उठी विजयी समेत भएका थिए । आफूनिकटका व्यक्तिहरूले हारेपछि शर्माले पहिलेदेखि नै पन्तमाथि कुदृष्टि राख्ने गरेको पन्तनिकट एक उपप्राध्यापकले बताए । मंसिर २६ गतेको भोजमा पनि सोही विषयको कुरा उठेपछि शर्माले पन्तमाथि निर्घात कुटपिट गरी घाइते बनाएका हुन् ।

दुवै उपप्राध्यापक २०६५ सालमा अनसन बसेर सुरुमा करारमा नियुक्ति पाई आन्तरिकबाटै उपप्राध्यापक बनेका व्यक्तिहरू हुन् ।

शर्माले आइतबार पनि अर्का उपप्राध्यापकलाई पिटे
मंसिर २६ गते मात्रै होइन, मंसिर २८ गते आइतबारसमेत उपप्राध्यापक शर्माले अर्का उपप्राध्यापकलाई समेत कुटपिट गरेका छन् । मंसिर २६ गतेको घटनाका सम्बन्धमा कुराकानी हुँदै गर्दा शर्माले आइतबार बिहान क्याम्पसको गेट नजिकै सुरक्षा गार्ड, विद्यार्थी र कर्मचारीकै अगाडी उपप्राध्यापक राजु केसीमाथि समेत हातपात गरेका छन् । केसी पद्मकन्या क्याम्पस प्राध्यापक संघका पूर्व सचिव र हाल बिबिएमका सह–निर्देशक हुन् । क्याम्पसका उपप्राध्यापकहरू पटक पटक कुटिएपनि यस सम्बन्धमा क्याम्पस प्रशासनले भने कुनै चासो दिएको छैन ।

शर्माले गरेका थिए क्याम्पस प्रमुखमाथि समेत हातपात
त्यसो त उपप्राध्यापक खुम प्रसाद शर्माको यो दादागिरी नयाँ होइन । शर्माले यस भन्दा पहिला नै पद्मकन्या क्याम्पसको क्यूएएको कार्यक्रममा क्याम्पसका पदाधिकारीको अगाडी तत्कालीन सहायक क्याम्पस प्रमुख गोविन्द पुनमाथि हातपात गरेका थिए । त्यतिबेला पुन र शर्मा दुवै पद्मकन्या क्याम्पसका कार्यकारी समितिका सदस्य थिए । पद्मकन्या क्याम्पसमा रेणुका जोशी क्याम्पस प्रमुख भएदेखि नै शर्मा लगातार निमित्त क्याम्पस प्रमुख बनेका छन् । त्यसबाहेक उनी पछिल्ला पाँच जना क्याम्पस प्रमुखको कार्यकालमा क्याम्पस कार्यसमिति सदस्य बनेका छन् ।

क्याम्पसलाई क्यूएएमा लैजान भनेर विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त रकममा राजनैतिक शक्तिको आडमा रकमा हिनामिना गरेको आरोप समेत शर्मामाथि लागेको छ । 

शर्माले यसअघि नै क्याम्पसका उपप्राध्यापक जगदीश ओलीमाथि समेत हातपात गरेका थिए । ओली हाल पद्मकन्या बहुमुखी क्याम्पसमा क्रियाशील पेसागत प्राध्यापक संघको सभापति छन् ।

पद्मकन्या बहुमुखी क्याम्पस त्रिविको स्वायत्तताप्राप्त क्याम्पस हो । विश्व बैंकबाट अनुदान लिएर स्वायत्तताप्राप्त भनेपनि अहिले पनि उपप्राध्यापक, प्राध्यापक तथा कर्मचारीको तलब भत्ता भने त्रिविले नै दिने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?