नेपालमा कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबिच समझदारी

लोकपथ
35
Shares

काठमाडौं । नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारी पत्रमा टानसँगको सहकार्यमा काटाले नेपालमा धेरै कोरियाली पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम, अभियान र प्रचारात्मक गतिविधि आयोजना गर्ने, नेपालमा कोरियाली पदयात्री र अन्य पर्यटकहरूको सुरक्षा बढाउन टानलाई सूचना, प्रविधिमा सहयोग गर्ने नेपाली पर्यटकलाई कोरिया भ्रमण गर्न प्रोत्साहित गर्ने पहलहरू गर्नेलगायतका विषयहरू उल्लेख छन् ।  

सो अवसरमा राजदूत यङले दुई संस्थाबिच भएको समझदारीले पर्यटन प्रवर्द्धनसँगै दुई देशबिचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुगेको बताए । उनले इपिएस प्रणाली र पर्यटनको माध्यमबाट दुई देशबिचको सम्बन्धलाई आगामी दिनमा पनि अझ फराकिलो बनाउन सकिने धारणा राख्नुभयो । काटाका उपाध्यक्ष वियोम्जेले टानसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा दुई देशबिच पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

टानका अध्यक्ष पाण्डेले नेपाल–कोरियाबिच सिधा हवाई उडानको सङ्ख्या बढाउनपर्ने आवश्यकता औँल्याउँदै दुई संस्थाबिचको समझदारीपछि एकअर्का देशमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी आउने विश्वास व्यक्त गरे । टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइँले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)मार्फत नेपाल भ्रमणमा आउने कोरियाली पर्यटक र पदयात्रीको सुरक्षाको प्रत्याभूति गरिने बताए ।

सो अवसरमा कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सिउ वनलगायत कोरियाली व्यवसायीहरूको पनि उपस्थिति थियो । कार्यक्रमको संयोजन टानका सह कोषाध्यक्ष लाक्पा टेम्बा शेर्पाले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?