सामाजिक सञ्जालको प्रेमले भारतिँदै नेपाली युवती, बेचबिखनको जोखिम बढ्दो

लोकपथ
112
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत भारतीय नागरिकसँग प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने नेपाली युवतीको संख्या बढ्दै जाँदा मानव बेचबिखनको जोखिम गम्भीर बन्दै गएको छ ।

भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँचीका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनर्स्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले चार दिनअघि शंका लागेपछि रोकेर परामर्श गर्दा उनीहरू जोखिममा रहेको खुलेको हो । उद्धार गरिएकामध्ये दाङकी एक युवती १५ वर्षीया र अर्घाखाँचीकी युवती २२ वर्षीया छन् ।

शान्ति पुनर्स्थापना केन्द्र नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमै चिनजान र कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी भई भारत जाने युवतीको संख्या पछिल्लो समय बढेको छ । यसले बेचबिखनको जोखिमलाई झनै बढाएको उनले बताइन् ।

केन्द्रको पहलमा दाङकी किशोरीलाई अभिभावकसँग सम्पर्क गराई पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग विवाह गराउने प्रक्रियामा कतिपय नेपाली महिलाले समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताइन् । आर्थिक लाभको लोभमा सामाजिक सञ्जालमार्फत युवतीलाई फकाई भारत पठाउने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमै भर परेर घरबाट भागी भारत जाने महिला उच्च जोखिममा रहने भन्दै सबैलाई सचेत रहन आग्रह गरे । दलालले विशेष गरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेको उनले बताए ।

शान्ति पुनर्स्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालबाट सिर्जित जोखिम न्यूनीकरणका लागि सीमा नाकामा निगरानी र सचेतनाका कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

जमुनाह नाकामा शान्ति पुनर्स्थापना गृह, माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन संघसंस्था मानव बेचबिखनविरुद्ध क्रियाशील छन् । शान्ति पुनर्स्थापना केन्द्रले गत आर्थिक वर्षमा ३९९ जनाको उद्धार गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?