काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पुस २० गतेभित्र सिफारिस गर्न मातहत समितिलाई परिपत्र गरेको छ ।
पार्टीले संसदीय निर्वाचन क्षेत्र समन्वय समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गरी केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा पठाउन निर्देशन दिएको छ ।
परिपत्रअनुसार पुस १० गतेभित्र जिल्ला समितिमा उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ भने जिल्ला समितिले आवश्यक निर्णयसहित पुस १५ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीमाथि निर्णय गरी पुस २० गतेभित्र केन्द्रीय कार्यालयमा पठाउनुपर्ने जसपाले जनाएको छ ।
निर्धारित समयभित्र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको नाम प्राप्त नभएमा संघीय संसदीय बोर्डले नै उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्न सक्ने उल्लेख परिपत्रमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया