काठमाडौं । ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बसेको नेकपा एमालेको सचिवालय बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ ।
एमालेले शुक्रबार पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको थियो । उक्त बैठकमा एमालेले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान संशोधन गर्ने चर्चा चलेको थियो । त्यसो त अध्यक्ष केपी शर्मा ओलीले समेत विधान महाधिवेशनबाट पारित विधान समेत संशोधन गर्ने संकेत गरेका थिए । तर वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षको उम्मेदवार बनेका ईश्वर पोखरेलले यदी विधान संशोधन गरिए ७० वर्षीय हदम्याद र २ कार्यकालको प्रावधानको विषय उठाउने प्रस्ताव गर्ने तयारी गरेपछि केन्द्रीय समिति पूरानै प्रावधान अनुसार अघि बढ्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विधानले तोकेको २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी नै रहनेगरी अघि बढ्ने निर्णय भएको जानकारी दिए ।
‘२५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी नै रहने गरी विधान महाधिवेशनले तय गरेको प्रावधान अनुसार नै अघि बढ्ने निर्णय गरेको छ,’ ज्ञवालीले भने ।
त्यसो त गत भदौ २२ गते सम्पन्न एमालेको विधान महाधिवेशनले पारित गरेको विधान समेत संशोधन गर्ने तयारी गरेपछि पार्टीभित्रै त्यसको विरोध समेत भएको थियो ।
एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा शनिबार गर्दैछ । एमालेले महाधिवेशन उद्घाटन सल्लाघारीमा गरे पनि बन्दसत्र लगायत नेतृत्व चयनको काम भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनका लागि कुनै पनि विदेशी प्रतिनिधि सहभागि नहुने तर अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई चुले निम्तो दिएको र उपस्थित हुने बताइएको छ ।
नेतृत्व चयनका लागि विद्युतीय मतदान गर्ने गरी तयारी भएको समेत ज्ञवालीले बताए ।
त्यस्तै आजको बैठकले मंसिर २४ गते सरकार र जेनजी प्रतिनिधिहरुबिच भएको १० बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया