काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
पार्टीले शुक्रबार महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिए ।
उनले भने, ‘नेकपा एमालेको ऐतिहासिक ११औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग ९० प्रतिशत सकिएको छ । नेकपा एमालेका लागि यो ठाउँ नै उपयुक्त हुन्छ भनेर हामीले यो ठाउँ रोजेका हौँ । साउण्ड सिस्टमदेखि अन्य सबै व्यवस्थापनको तयारी अन्तिम तयारीमा रहेको छ ।’
पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागि हुने विश्वास गरिएको दाबी गरे ।
पार्टीको महाधिवेशनसँगै प्रतिशोधविरुद्ध तथा संविधान र व्यवस्था रक्षाको महाअभियान समेत सुरु हुन गइरहेको बताए ।
उनले महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिएपनि शुभकामना पठाउन आग्रह गरिएको बताए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरुलाई उद्घाटन सत्रमा सहभागि हुने उनको भनाइ छ ।
पार्टीको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले महाधिवेशन पूर्णतः नेतृत्व चयनमा केन्द्रित हुनेछ । केपी शर्मा ओली नै तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा छन् । अध्यक्ष पदका लागि ओलीसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिष्पर्धा गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया