शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत विद्यालयका १०४ छात्रालाई छात्रवृत्ति

लोकपथ
28
Shares

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई  हेटौँडामा रहेको शिवं सिमेन्ट लिमिटेडले छात्रालक्षित छात्रवृत्ति प्रदान गरेको छ ।

कम्पनीले हेटौंडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालू शैक्षिक सत्रको लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो । 

विद्यालयले आठ महिनासम्म विद्यार्थीबाट असुल्ने शुल्क बराबरको रकम शिवम् सिमेन्टले  विद्यालय परिसरमै आयोजित समारोहमार्फत हस्तान्तरण गरेको हो । 

समारोहमा हेटौँडा–१७ का जनप्रतिनिधि, शिवम् सिमेन्टका अधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक–अभिभावकको उपस्थिति थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका कक्षा १ देखि ८ सम्मका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसले छात्राहरूको शैक्षिक उत्साह बढाउने र विद्यालयमा छात्रा उपस्थितिमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । 

कार्यक्रममा प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले शिवम् सिमेन्टले छात्रा शिक्षामा योगदान पुर्‍याउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले उद्योगले सन् २०६८ मा स्थापना भएदेखि विद्यालयसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी वर्षदेखि पूर्ण छात्रवृत्ति व्यवस्था गरिदिन आग्रह समेत गरे ।

शिवम् सिमेन्टले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा कम्पाउन्ड वाल निर्माण, स्कुल बस उपलब्धता तथा कम्प्युटर–प्रिन्टर लगायत शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?