काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का सरकारले रद्द गरेको छ ।
सडक विभाग मातहत हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडासँगको ठेक्का सम्झौता अन्त्य भएको मंगलबार सार्वजनिक सूचना मार्फत जनाएको हो ।
योजना अनुसार यो सडक तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । २०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको भए पनि २०७९ कात्तिकसम्म सकिनुपर्ने काम करिब २५ प्रतिशत मात्र अघि बढेको पाइएको छ । सडकका केही भाग ४ लेन र केही भाग ६ लेनमा स्तरोन्नति गर्ने सम्झौता थियो ।
ठेक्का म्याद दुई पटक थपिए पनि निर्माण कम्पनीले आफ्नो प्रतिबद्धता अनुसार काम अघि नबढाएको, साइट ठप्प बनाएको र पटक–पटक ताकेता गर्दा पनि प्रगति नदेखिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए ।
ठेक्का रद्दसँगै निर्माण कम्पनीको ४ करोड १९ लाख रुपैयाँ कार्यसम्पादन जमानत तथा ९ करोड ६७ लाख रुपैयाँ पेस्की जफत गरिनुपर्ने भएकाले बैंकमा पत्राचार गरिसकिएको उनले जानकारी दिए । पेस्की रकम १० प्रतिशत ब्याजसहित असुल गरिनेछ ।
निर्माण कम्पनीलाई गत साउनमा १५ दिने स्पष्टीकरण मागिएको थियो । तर पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद नियमावलीअनुसार ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्माण कम्पनीले अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको विश्वसनीय योजना वा काम सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता समेत प्रस्तुत गर्न सकेन। काम सुरु गर्ने तदारुकता समेत नदेखिएको निष्कर्षपछि कम्पनीले सम्झौता उल्लङ्घन गरेको ठहर गर्दै ठेक्का तोडिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया