आगामी निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने गतिशील लोकतान्त्रिक पार्टीको घोषणा

लोकपथ
63
Shares

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको धनगढीमा आयोजित कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष डा. दिनेश प्रसाईँले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनका अनुसार प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटमै उम्मेदवारी दिइनेछ ।

त्यस्तै त्यसका लागि विषयविज्ञ, क्षमतावान र इमान्दार व्यक्तिहरुलाई प्राथमिकतामा राखिने समेत उनले बताए ।

‘आज पहिलोपटक हाम्रो दलले २ सय ७५ सिटमै दलका तर्फबाट उम्मेदवार उठाउने घोषणा गर्दछ,’ प्रसाईंले भने, ‘विषयविज्ञ, क्षमतावान् र इमानदार व्यक्तिलाई पार्टीले उच्च प्राथमिकतामा राख्ने छ ।’

त्यसो त पार्टी स्थापनाको छोटो समयमा नै देशभर आफ्नो सञ्जाल विस्तार गर्न सफल गतिशील पार्टीले अन्य दलहरुसँग चुनावी सहकार्यका लागि ढोका खोलेको जनाएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रसाईँले भने, ‘सहकार्यका लागी पहिलो प्राथमिकता पार्टीका एजेन्डामाथि मिहिन छलफल हो । हामीले आत्मसाथ गरेका एजेन्डामा सहमत भए हामी सँगै जान सकिने आधार बन्न सक्छ ।’

त्यसो त गलोपाले निर्वाचनमा २० प्रतिशत मत नल्याए पार्टी सरकारमा नजाने घोषणापत्रमा नै उल्लेख गरेको छ ।
त्यति मात्र होइन सक्रिय पार्टी सदस्यको हद १६ वर्ष रहने र एउटै पदमा दुईपटक भन्दा बढी बस्न नपाइने र पदाधिकारी चुनाव लड्न नपाउने समेत घोषणापत्रमा उल्लेख गरिएको छ ।

देशलाई आत्मनिर्भर बनाउनुपर्छ नाराका साथ खुलेको गलोपाले देशका मुख्य शहरहरुमा आफ्नो पार्टीको नीतिबारे बहस चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?