काठमाडौं । जेनजी युवा प्रतिनिधिहरूले जापानमा जनवरी २०२५ मा पाँच दिनसम्म सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको आरोप लगाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार स्पष्टीकरण मागेका छन् ।
दिउँसो मन्त्रालय पुगेका उनीहरूले एक्स्पोसँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य पालन नगरी एकतर्फी ढंगले निर्णय गरेको आरोप लगाएका छन् । जेनजीका प्रतिनिधि अविन गुरुङका अनुसार एक्स्पो आयोजनामा गम्भीर अनियमितता भएको सूचना पाएपछि छानबिन माग गर्दै आफूहरू मन्त्रालय पुगेका हुन् ।
गुरुङले यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ठाडो उजुरी दर्ता गराए पनि सुनुवाइ नहुँदा मन्त्रालयसँग प्रत्यक्ष स्पष्टीकरण माग्न बाध्य भएको बताए । उनले भने, ‘वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको सुनेपछि अख्तियारमा निवेदन र ठाडो उजुरी दिएका थियौँ, तर सुनुवाइ नहुँदा यहाँ किन प्रक्रिया रोकियो भन्ने बुझ्न आएका हौँ ।’
अर्का जेनजी प्रतिनिधि अमर सापकोटाले पनि सरकारी कर्मचारीले गैरजिम्मेवारीपूर्वक एकल निर्णय लिएको आरोप लगाए । उनका अनुसार बारम्बार पत्राचार, ठाडो उजुरी तथा पूरक उजुरी दिँदा पनि कुनै निष्कर्ष ननिस्कनु गम्भीर विषय हो ।
सापकोटाले भने, ‘दुवै पक्षलाई नबोलाई निष्कर्ष निकाल्न खोजिएको देखिन्छ, जसले छानबिनको विश्वसनीयता कमजोर बनाएको छ। त्यसैले आज मन्त्रीसँग भेटेर आफ्नो गुनासो राख्न आएका हौँ ।’
जेनजी प्रतिनिधिहरूले वर्ल्ड एक्स्पोमा नेपालको प्रस्तुतीकरण नै देशको गौरवमा आँच आउने गरी कमजोर रूपमा गरिएको दाबी गरेका छन् ।
मन्त्रालयले भने यसबारे प्रतिक्रिया नदिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया