एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छ। ज्ञवालीले भने, ‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ । टेण्डर आव्हान भइसकेको छ र चाँडै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुने छ ।’

एमालेले यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिसकेको थियो ।

महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी सदस्य चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान संशोधन प्रस्तावअनुसार केन्द्रीय कमिटीको संख्या घटाइएको थियो। महाधिवेशनमा करिब २ हजार २०० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ भने बन्दसत्र भृकुटीमण्डपमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?