पेस्तोल देखाएर ‘फूड डेलिभरी ब्वाई’को लुटपाट, दुई थान हतियारसहित समातिए आरोपित

भदौ २४ गते प्रहरी कार्यालयबाटै लुटिएको थियो हतियार

लोकपथ
1.4k
Shares


काठमाडौं । पेस्तोल देखाएर ‘फूड डेलिभरी ब्वाई’माथि लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सोह्रखुट्टेबाट दुई र भृकुटीमण्डपबाट एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले लुटपाट लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा मकवानपुरका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र बागलुङका २५ वर्षीय बालकृष्ण गैरेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान पेस्तोलसमेत बरामद भएको छ । ती हतियार गत भदौ २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट लुटपाट गरी लगेको खुलेको छ । हतियार देखाएर आपराधिक गतिविधिमा संलग्न भइरहेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयका डीएसपी अनिल घिमिरेको टोलीले उनीहरुको खोजी गर्दै गर्दा बुधबार सोह्रखुट्टेबाट निकेश र सुरजलाई पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका उनीहरुकै बयानका आधारमा भृकुटीमण्डपबाट बालकृष्ण गैरेलाई समेत पक्राउ गरिएको हो ।

पक्राउपछि अनुसन्धान गर्दा निकेश र सुरजले गत मंसिर ५ गते राति २ बजेको आसपास काठमाडौंको बागबजार क्षेत्रबाट फूड डेलिभरी ब्वाईलाई हतियार देखाएर लुटपाट गरेको पाइएको छ । फूड डेलिभरी गर्ने निरज चौधरीलाई उनीहरुले खाना अर्डर गरी खाना ल्याएपछि पेस्तोल देखाएर निरजको मोबाइल, एयरपड तथा साथमा रहेको १२ हजार ५ सय रुपैयाँ समेत लुटेर लगेको पाइएको छ ।

पक्राउ परेकामध्ये निकेश विकविरूद्ध २०८१ माघ ११ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा जाहेरी परी फरार रहेको पाइएको छ ।

त्यसैगरी उनी महोत्तरीमा भएको डाँका चोरी मुद्दामा समेत फरार रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?