कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

लोकपथ
245
Shares

काठमाडौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गत असोज २६ गते पक्राउ गरेको थियो ।
आज महराको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघि जिल्ला अदालत काठमाडौंको आदेश समेत बदर गरिदिएको छ ।

‘…प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष तथा अदालत समक्ष गरेको बयान व्यहोरा समेतका परिप्रेक्ष्यमा तत्काल प्राप्त प्रमाणहरुका आधारमा प्रतिवादीलाई थुनामा नै राखी मुद्दा पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएको अवस्थामा तहौँ अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी भएको मिति २०८२–०६–२९ को आदेश मिलेको नदेखिँदा देखिँदा बदर गरिदिएको छ,’ आदेशमा भनिएको छ ।

त्यस्तै उच्च अदालतले प्रतिवादी महराको उमेर र श्वास्थ्य अवस्था तथा अभियोग तथा संकलित सबूत प्रमाणहरुका आधारमा समेत उनलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै २० लाख धरौटी लिइ मुद्दा पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएको हो ।

‘प्रतिवादी उपर लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाणहरु, प्रतिवादीको उमेर र स्वास्थ्य अवस्थ समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ दफा ७२ समेतलाई विचार गरी पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने हुँदा हाल प्रतिवादी कृष्णबहादुर महराबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. २०,००,००० (बीस लाख रुपैयाँ) नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत दिए लिई पुर्पक्षका लागि तारिखमा राखी नियमानुसार गर्नू,’ आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?