बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

लोकपथ
154
Shares

नुवाकोट । नुवाकोटको बञ्चरेडाँडामा स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी फिर्ता पठाइएको छ । ककनी गाउँपालिका र धुनबेँसी नगरपालिका क्षेत्रमा फोहर विसर्जन रोकिएको छ ।

स्थानीयहरूले विगतका सहमति कार्यान्वयनको माग राख्दै आएका छन् । धुनबेँसी–१ का स्थानीय निराञ्जन सञ्जेलका अनुसार, गत कात्तिक १६ गते सरोकारवाला मन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको प्रतिबद्धता जनाए पनि १५ दिनभित्र प्रगति नहुँदा पुनः अवरोध सुरु गरिएको हो ।

स्थानीयहरूले विसं २०७९ जेठ २६ मा काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहसहित भएको १८ बुँदे सहमतिका सर्तअनुसार फोहर व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् । सहमतिमा फोहर रातको समयमा मात्र विसर्जन गर्ने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर गाडीले लिच्चड नछुहाउने, र वैज्ञानिक व्यवस्थापन अनुसार लिच्चड खोलामा जान नदिनेलगायतका प्रावधान थिए ।

फोहर विसर्जन नहुँदा प्रभावित क्षेत्रमा दुर्गन्ध फैलिँदै सरुवाजन्य रोगको जोखिम बढेको र दैनिक जनजीवन प्रभावित भएको स्थानीयको भनाइ छ । स्थानीयहरूले सहमति कार्यान्वयनका लागि मन्त्रीस्तरीय लिखित प्रतिबद्धता र जिम्मेवार प्रतिनिधिको उपस्थिति आवश्यक रहेको बताए ।

ककनी र धुनबेँसीका जनप्रतिनिधि, दलीय प्रतिनिधि लगायतले स्थानीयको मागलाई समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?