नयाँ दिल्ली ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले भारतीय समकक्षी पीयूष गोयलसँग नयाँ दिल्लीस्थित वाणिज्य मन्त्रालयमा भेटवार्ता गरेका छन् । ३० औँ पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन मन्त्री सिन्हा विशाखापट्टनम जाने क्रममा दिल्लीमा भेट भएको हो ।
दुई मन्त्रीबिचको भेटघाटमा सीमापार ढुवानीलाई सहजीकरण गर्ने, प्रमाणीकरण प्रक्रियालाई सरलीकरण गर्ने, व्यापार, पारवहन व्यवस्था, व्यापार प्रवर्धन र लगानी प्रवर्द्धनमा भातले सहयोग गर्ने लगायतका विषयमा छलफल भएको छ ।
मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा भारतले सहयोगका लागि प्रतिबद्धता दोहोराएको र सहजीकरणका लागि छिटै नै लेटर अफ एक्सचेन्ज हुने बताइएको छ । साथै भारतले ‘नेबरहुड फर्स्ट’ नीतिअनुरूप नेपाललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पुनः दोहोर्याएको विज्ञप्तिमा उल्लेख छ ।
भेटवार्ताका मुख्य बुँदाहरू :
सीमापार ढुवानी सहजीकरण : सीमापार पारवहन सम्बन्धी प्रोटोकलमा परिमार्जन गरी रेलमार्ग प्रयोग गरी कोलकाता र विशाखापट्टनमबाट विराटनगर–जोगबनी तथा नौतनवा (सुनौली) हुँदै नेपालसम्म वस्तु ढुवानी गर्ने व्यवस्था सहज बनाउने ।
एलओईको आदानप्रदान : उक्त सहज ढुवानी व्यवस्था लागू गर्न आवश्यक पत्र विनिमय (लेटर अफ एक्सचेन्ज – एलओई) को शीघ्र आदानप्रदान गर्ने ।
प्रमाणीकरण प्रक्रिया सरलीकरण : भारतीय मानक ब्युरो (बिआइएस) सँग सम्बन्धित प्रमाणीकरण प्रक्रियालाई सरल बनाउने, जसले द्विपक्षीय व्यापार र पारवहन व्यवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

भेटवार्ताले दुई देशबिचको गहिरो आर्थिक अन्तरसम्बन्धलाई प्रतिबिम्बित गर्ने दाबी गरिएको छ ।
भेटमा दुवै देशबिचको व्यापार, पारवहन व्यवस्था, व्यापार प्रवर्द्धन र लगानी प्रवर्द्धन सम्बन्धी विषयमा थप छलफल भएको र सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल अघि बढ्ने निर्णय भएको जनाइएको छ ।
भेटमा नेपालका तर्फबाट राजदूत डा. शंकर शर्मा तथा उद्योग मन्त्रालयका वरिष्ठ अधिकारीहरू र भारतबाट सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित भएका थिए ।
यो सहमतिसँगै विद्यमान ढुवानी संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउने गरी काम गर्ने र बन्दरगाहमा रोकिएका नेपाली वस्तुको ढुवानी तीव्र बनाउने तथा द्विपक्षीय व्यापारिक सम्बन्धलाई अझ मजबुत हुने दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया