कास्की । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा वडा प्रहरी कार्यालय बगरबाट हतियार लुट्ने १६ वर्षीय किशोर पक्राउ परेका छन् । गत भदौ २४ गतेको आन्दोलनमा चाइनिज पेस्तोल लुटेर लैजाने किशोरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका डिएसपी हरि बहादुर बस्नेतका अनुसार २४ गतेको आन्दोलनमा टाइप ५४ को चाइनिज पेस्तोल लुटेर लैजाने १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।
जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरी हतियार लुटेर लगेका परिवर्तित नाम २०८२।८३ कास्की ३१ लाई आइतबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको हो । ती किशोरले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरी हतियार लुटेर भाग्दै गरेको सिसिटिभी फुटेजमा देखिएको थियो ।

सोही सिसिटिभी फुटेजको अनुसन्धान हुँदै जाँदा पोखरा महानगरपालिका वडा नम्बर ४ मा डेरा गरेर बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । पक्राउपछि डेरा कोठाको खानतलासी गर्ने क्रममा निजको डेरा कोठाबाट वडा प्रहरी कार्यालय बगरको जिम्मेवारीमा रहेको टाइप ५४ को चाइनिज पेस्तोलसमेत बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दैनिक जसो हतियार लुटपाटमा संलग्नहरूमाथि धरपकड गरी पक्राउ गर्ने गरेको छ । प्रहरी कार्यालयबाट लुटिएका हतियारले समाजमा त्रास बढाएको भन्दै आफूहरूको पहिलो प्राथमिकता हतियार लुट्नेहरूको खोजी र पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनु रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया