काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको क्षयीकरण पार्टीभित्रैको आन्तरिक कारणले हुनसक्ने आत्मसमीक्षा गरेको छ ।
शुक्रबारबाट चितवनमा सुरु भएको रास्वपाको विस्तारित केन्द्रीय समिति बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले राखेको संगठनात्मक प्रतिवेदनमा सो आत्मसमीक्षा गरिएको छ ।
बुर्लाकोटीले सभापति रवि लामिछानेले भन्ने गरेको विषय स्मरण गरे । उनले रास्वपा आफ्नै खुट्टामा नअल्झिए अरु कसैले पनि अल्झाएर लडाउन नसक्ने दाबी गरेका छन् ।
‘सभापति रवि लामिछानेले भन्नुभए जस्तो हामी आफ्नै खुट्टामा अल्झिएनौँं भने, हामीलाई कसैले लडाउन सक्नेछैन । यदि हामी लड्यौं भने हामी आफ्नै खुट्टामा अल्झिएर लड्नेछौँ । हामी वरपर देखिने पार्टीक्षयीकरणका विषयहरुलाई निरुत्साहित गर्दै हौसलापूर्ण जागरण सिञ्चित गर्नु आवश्यक छ,’ संगठनात्मक प्रतिवेदनमा भनिएको छ ।
विस्तारित बैठकबाट अपार हौसला, उत्साह र मुलुक निर्माणको अकाट्य सपना बोकेर फर्कने विश्वास लिएको पनि बताइएको छ । त्यति मात्र होइन पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई प्रष्ट विधिमार्फत् सुदृढ गर्दैै लैजाने, पार्टी सदस्यता वितरणलाई थप सजिलो बनाउने, पार्टी गतिविधि पारदर्शी बनाउने लगायतका कामहरु अवलम्बन गरिने समेत संगठनात्मक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘आन्तरिक लोकतन्त्रलाई प्रष्ट विधि मार्फत् सुदृढ गर्दै लैजाने, सदस्यता वितरणलाई थप सरल बनाउने, पार्टी गतिविधि थप पारदर्शी बनाउने, नेतृत्व विकासमा विशेष ध्यान दिने, योग्य उम्मेदवार छनौट सुनिश्चित गर्ने र पार्टीमा जिम्मेवारी लिने सबैले कार्यशैलीमा व्यापक सुधार ल्याउने, हामी सुदृढ हुने मानकहरु हुन्,’ संगठनात्मक प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘यो विस्तारित बैठकबाट हामीले अपार हौसला, उत्साह र मुलुक निर्माणको अकाट्य सपना बोकेर फर्कने विश्वास लिएको छु ।’
पार्टी निर्माणपछि देशमा रहेको भ्रष्टाचार, व्यथिति, विसंगति र अन्यायविरुद्ध शंखघोष गरेको तर पार्टी सभापति रवि लामिछानेमा प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै सभापतिकै प्रत्यक्ष नेतृत्व र निर्देशन नपाउँदा पार्टी संगठनमा त्यसको असर परेको समेत रास्वपाको तर्क रहेको छ ।
‘तीन वर्षको दौरानमा भएको यो संगठन, संगठनको लागि मात्रै क्रियाशील हुन पाएको छैन । भ्रष्टाचार, व्यथिति, विसंगति र अन्यायविरुद्ध शंखघोष गरेको पार्टीको सभापतिमाथि लागेको प्रतिशोधपूर्ण झुटा मुद्दा र हामीले सभापतिज्यूको प्रत्यक्ष नेतृत्व र निर्देशन पाउने अवस्था नहुँदाखेरि पार्टी संगठनमा पनि त्यसको क्षति परेको छ ।
हाम्रा शत्रुहरूले हामीलाई जुन तबरबाट कमजोर बनाउन खोजेका थिए त्यो केही हदमा उनीहरू सफल भएका छन् ।
हामी बिचमा पनि घुसपैठ गराउने प्रयत्नहरु प्रशस्त देखिएको छ । विपक्षीहरुको यस्ता हर्कतबाट हामी सचेत हुनेछौँ र पार्टी क्षयीकरण हुनबाट हामी एकताबद्ध भई बचाएका छौँ र आउने दिनमा अझै सशक्त भएर बचाउने छौँ । रचनात्मक, सिर्जनात्मक, स्थिर र नियमित संलग्नताले पार्टीलाई कमजोर बनाउने चलखेलहरुलाई परास्त गर्नेछौँ,’ रास्वपाले भनेको छ ।
यसैगरी ०८४ सालको निर्वाचनका लागि तयारी गरेको तर फरक परिस्थितिमा ०८२ सालमै निर्वाचनमा जानुपरेको भन्दै त्यसको समेत आफूहरु तयारीमा रहेको रास्वपाको ठहर रहेको छ । त्यसका लागि आफूहरु तयारीमा रहेको समेत बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया