अत्यावश्यक बाहेक आवेदन नदिनुहोस्, राहदानी समस्या छिट्टै समाधान हुनेछ : परराष्ट्र मन्त्रालय

लोकपथ
329
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी पुस्तिका अभावबारे बाहिर आएको समाचार वास्तविकता विपरीत भएको स्पष्ट गर्दै समस्या समाधानतर्फ उन्मुख रहेको जनाएको छ । मन्त्रालयले सेवाग्राहीको उच्च मागका कारण केही न्यून सङ्ख्या देखिए पनि राहदानी वितरण अवरुद्ध नभएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अहिले राहदानी विभाग नयाँ आपूर्तिकर्तासँगको ‘हेण्डओभर–टेकओभर’ प्रक्रियामा रहेको छ । विसं २०८२ साउनमा नयाँ आपूर्तिकर्तासँग खरिद सम्झौता भइसकेको र सो सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि नयाँ राहदानी उत्पादन सुरु हुने जानकारी उनले दिए ।

उनका अनुसार आवश्यक पूर्वाधार तथा प्रणाली निर्माणका काम तीव्र गतिमा भइरहेको छ । नयाँ सेवा प्रदायकले तोकिएको मितिदेखि विद्युतीय राहदानी उत्पादन सुरु गर्ने पक्का भइसकेको मन्त्रालयले जनाएको छ ।

हाल विभागले अत्यावश्यक सेवामा भने निरन्तरता दिएको छ । मन्त्रालयले विदेशमा आकस्मिक उपचार, तत्काल रोजगारी, वा आपतकालीन अवस्थाका व्यक्तिहरूका लागि मात्र राहदानी आवेदन खुला गरिएको जनाएको छ । साथै, सर्वसाधारणलाई धैर्य गर्न र सरकारलाई सहयोग पुर्‍याउन आग्रह गरिएको छ ।

संक्रमणकालीन अवधिमा अभाव कम गर्न मन्त्रालयले कात्तिक १७ गते साँझ ५ बजेदेखि दैनिक एक हजार जनाको आवेदन लिने व्यवस्था गरेको छ । यसरी सञ्चालन हुने प्रणालीले तत्कालका अत्यावश्यक मागहरू पूरा गर्न मद्दत गर्ने मन्त्रालयको अपेक्षा छ ।

परराष्ट्र मन्त्रालयका अनुसार फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा आउनेछ । त्यसअघि अत्यावश्यक अवस्था बाहेकका सेवाग्राहीलाई आवेदन नदिन पुनः आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?