जाँचबुझ आयोगले आजदेखि प्रहरी अधिकारीसँग बयान लिने, सूचीमा को को छन् ?

लोकपथ
3.5k
Shares

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज बिहीबारबाट प्रहरी अधिकारीको बयान लिने भएको छ । 

स्रोतका अनुसार, आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, डीआईजी ओमबहादुर राना, जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एवं एसएसपी विश्व अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी रमेश बस्नेत र केही वृत्त प्रमुखसँग बयान लिने भएको छ । बयान लिइने वृत्त प्रमुखको सूचीमा बानेश्वर वृत्तका प्रमुख एवं डीएसपी हरि खतिवडा, सिंहदरबार वृत्तलगायत अन्य वृत्तका प्रमुख र फिल्ड कमान्डर छन् । 

‘प्रहरी महानिरीक्षकदेखि उपत्यकाका युनिट इन्चार्ज र आन्दोलनमा खटिएका फिल्ड कमान्डरसँग बयान लिने तयारी छ,’ स्रोतको भनाइ छ । 

आयोगका अनुसार, जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो । पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध नगराएपछि आयोगले पत्र लेखेर विवरणबारे सोधेको थियो । जवाफमा प्रधान कार्यालयले आईजीपीदेखि जवानसम्म खटिएको भनेको थियो । प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतबार जाँचबुझ आयोगले आईजीपी चन्द्रकुबेर खापुङकै नाममा २४ घण्टाभित्र जबाफ पठाउन भनेर प्रधान कार्यालयमा पत्र पठाएको थियो । प्रधान कार्यालयले भने प्रधान कार्यालयले यसको विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जबाफ फर्काएको थियो । प्रधान कार्यालयले नै उपलब्ध गराउनुपर्ने विवरण नदिएको भन्दै जाँचबुझ आयोगले आईजीपी खापुङसँग स्पष्टीकरण सोधेको हो ।

‘प्रहरी प्रधान कार्यालयले दिनुपर्ने विवरण उपत्यका प्रहरीकहाँ पठाइयो, आयोगको कामकारबाहीमा समेत ढिला हुने भयो, त्यसैले तपाईंलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेका छौँ,’ आयोगका प्रवक्तासमेत रहेका सदस्य विज्ञानराज शर्माले भने, ‘आयोगको काममा बाधा पुर्‍याउनेहरूलाई स्पष्टीकरण सोध्छौँ ।’

यस्तै, आयोगले आइतबार नै प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरेको थियो । 

आयोगका प्रवक्ता एवं सदस्य शर्माले उपत्यका प्रहरी कार्यालयले आन्दोलनमा खटिएका कमान्डरदेखि युनिट इन्चार्जसम्मको नाम आयोगलाई पठाएको जानकारी दिए । उनले भने, ‘उपत्यका प्रहरी कार्यालयबाट नाम आएको छ, अब आवश्यकताअनुसार बयान लिन सुरु गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?