सशस्त्र प्रहरीद्वारा अन्नपूर्ण बेस क्याम्पबाट १६२ जनाको उद्धार 

लोकपथ
399
Shares
फाइल तस्बिर

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहीबार बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको छ । 

योसँगै अब अन्नपूर्ण बेसक्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

सशस्त्र प्रहरीका अनुसार, अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट अस्ति कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो । 

सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको हो । 

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ । ३ दिनको निरन्तर प्रयास पछि बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?