खल्तीले सार्वजनिक गर्‍यो ६ नयाँ सेवा

लोकपथ
0
Shares

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा ६ वटा नयाँ सेवा सार्वजनिक गरेको छ । डिजिटल भुक्तानीसँगै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले कम्पनीले नयाँ सेवा ल्याएको हो ।

फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई–सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो । त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ सेवाले प्रयोगकर्तालाई डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन र डिजिटल कनेक्टिभिटीमा थप सुविधा प्रदान गर्नेछ । यी सेवामार्फत खल्तीले आफ्नो सेवालाई भुक्तानीमा मात्र सीमित नराखी दैनिक जीवनका विभिन्न आवश्यकतासँग जोड्ने प्रयास गरेको छ ।

एक्स्पो अवधिभर खल्तीको स्टलमा सयौँ प्रयोगकर्ता पुगेका थिए । उनीहरूले कम्पनीका विभिन्न सेवा तथा उत्पादनबारे जानकारी लिएका थिए । कम्पनीका प्रतिनिधिहरूले नयाँ सेवाका विशेषता, प्रयोग गर्ने तरिका र उपलब्ध सुविधाबारे जानकारी दिएका थिए ।

प्रयोगकर्ताको सहभागिता बढाउन कम्पनीले एक्स्पो अवधिमा विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराएको थियो । स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, बीमा, हवाई टिकट, मोबाइल टपअप, डाटा प्याक तथा टेलिभिजन र इन्टरनेट सेवासम्बन्धी कारोबारमा विभिन्न अफर दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्स्पोमा सहभागी प्रयोगकर्ताले विशेषगरी खल्ती कार्ड्स, स्ट्राइप र पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए । डिजिटल भुक्तानीलाई सहज बनाउने, व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने र प्रविधिमा आधारित सेवा उपलब्ध गराउने प्रयासलाई प्रयोगकर्ताले रुचाएको कम्पनीको भनाइ छ ।

आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता एक्स्पोले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए ।

यस वर्ष कम्पनीले भुक्तानी सेवाभन्दा अगाडि बढेर व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी र प्रविधिमा आधारित अन्य सेवा सार्वजनिक गरेको उनले जानकारी दिए। नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको चासो र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्न प्रेरणा मिलेको रेग्मीको भनाइ छ ।

खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका आवश्यकतासँग सम्बन्धित सेवा एउटै डिजिटल प्लेटफर्ममा जोड्ने रणनीतिअनुसार सेवा विस्तार गरिरहेको जनाएको छ । नेपाल फिनटेक एक्स्पो २०२६ मा सहभागिता र नयाँ उत्पादन सार्वजनिक गर्नु पनि यही रणनीतिको हिस्सा भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?