काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले हालसम्म ५६ हजार ६७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा त्यसबारे तथ्यांक दिँदै बालेनले सो दाबी गरेका हुन् ।
यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् ।
आर्थिक वर्ष २०८१–०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।बालेनका अनुसार उनीहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिए ।
यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण, १२० वटा स्वास्थ्य संस्थाको अनुगमन साथै १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भएको उनले बताए ।
वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरिएको तथा किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरिएको र १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइएको बालेनले बताएका छन् ।
महानगरको वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ, महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापनादेखि ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरिएको छ ।
यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा छन् ।
यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरियो । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको बालेनले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया