गोलमेच संवाद नै आजको अपरिहार्य आवश्यकता : कांग्रेस नेता केसी

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले देशलाई द्वन्द्वबाट बचाउन गोलमेच सम्मेलनको माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दे केसीले गोलमेच सम्मेलनको माग गरेका हुन् ।

राजनीतिक दल र सरकारबिच सर्प, भ्यागुतो र बिच्छीको जस्तो पारस्परिक अविश्वास बढिरहेको भन्दै सबै पक्ष सहभागी भई गोलमेच सम्मेलनबाट राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने केसीको भनाई छ ।

देशको अस्तित्व नै यति बेला संकटमा परेको भन्दै यो संकटबाट बाहिर निस्कन बृहत् राष्ट्रिय सहमतिको आवश्यकता रहेको औँल्याएका छन् । केसीले जेन जी आन्दोलनका सम्बन्धमा विध्वंस अघि राज्य संयन्त्रसँग कुनै जानकारी वा पूर्व सूचना नहुनुलाई राज्य संयन्त्रको असक्षमता र पूर्णतः असफलताको प्रत्यक्ष उदाहरण रहेको समेत आरोप लगाएका छन् ।

साथै देशको अस्तित्व नै संकटमा परेको भन्दै आग्रह वा पूर्वाग्रहबाट माथि उठेर विचार, दल र स्वार्थभन्दा पर सोच्नुपर्ने बताएका छन् । अब अगाडी बढ्नका लागि साझा राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको समेत केसीले बताएका छन् ।

केसीको ट्विटको पूर्ण अंश यस्तो छ :
‘वागेनिन्गेन विश्वविद्यालयबाट विद्यावारिधि गरेका, नेपालका प्रख्यात द्वन्द्व व्यवस्थापन विज्ञ डा. विष्णुराज उप्रेती माओवादी द्वन्द्वकालीन शान्ति प्रक्रियाका सक्रिय सहयोगी हुनुहुन्छ । अफ्रिकी र दक्षिण एसियाली गृहयुद्धका अध्येता उप्रेतीको हालै नागरिक दैनिकमा प्रकाशित लेख ‘गृहयुद्धबाट मुलुकलाई जोगाऔँ” पठनीय मात्र होइन, अत्यन्त मननीय र वर्तमान स्थितिको बारे चेतना जगाउने कृति हो ।

उहाँले लेखमा प्रस्तुत गरेका ३० बुँदामार्फत नेपालको वर्तमान राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार र कमजोर आर्थिक अवस्थाको गहिरो यथार्थ चित्रण गरिएको छ । यस लेखले सबै राष्ट्रिय शक्ति, पार्टीहरूभित्र व्यापक सुधारको साथै जिम्मेवार वर्गलाई आत्म मूल्यांकन, निर्मम समीक्षा र सचेतताका लागि गम्भीर रूपमा आह्वान गरेको छ ।

Daron Acemoglu र James A. Robinson को ‘Why Nations Fail’ अनुसार राष्ट्रहरू तब असफल हुन्छन् जब तिनका राजनीतिक र आर्थिक संस्थाहरू दमन, भ्रष्टाचार र लुटतन्त्रमा डुब्छन् । जब शासन कमजोर र शक्ति केन्द्रीकृत हुन्छ, नागरिक सहभागिता स्वार्थमा सीमित रहन्छ, र न्याय–सुशासनको अभाव हुन्छ -त्यो देश पतनको दिशातिर धकेलिन्छ । नेपाल आज झन्डै यस्तै चिन्ताजनक दिशामा उन्मुख देखिन्छ । हाल देशमा फैलिएको निराशा, नकारात्मक सोच, असुरक्षा र विश्व व्यवस्थामा आएको खलबली सँगै पेचिलो भूराजनीतिक परिस्थितिले राष्ट्रिय अस्तित्व नै जोखिममा पारेको छ ।

भाद्र २३ र २४ बीचको ‘२७ घण्टामा देशैभरि सञ्चालित विद्रोह र स्कुल–कलेजको ड्रेसमा आएका १९ जना जेन जी विद्यार्थीको नरसंहार, ७६ को मृत्यु र अभूतपूर्व विध्वंस र परिवर्तन’ अघि राज्यसँग कुनै पूर्व–सूचना नहुनु राज्य संयन्त्रको असक्षमता र पूर्ण असफलताको प्रत्यक्ष उदाहरण हो ।

आजको यस परिस्थितिमा आग्रह वा पूर्वाग्रह भन्दा माथि उठी विचार, दल र स्वार्थभन्दा पर सोच्न जरुरी छ । बहुपक्षीय द्वन्द्वको गहिरो विश्लेषण र साझा राष्ट्रिय दृष्टिकोण अब अनिवार्य भएको छ ।

राष्ट्र प्रेम, सांस्कृतिक चेतना, अधिकार र उत्तरदायित्वप्रतिको जागरणबाट मात्र सकारात्मक सोच र राष्ट्रिय पुनर्जागरण सम्भव छ । साप, बिच्छी र भ्यागुतो जस्तो पारस्परिक अविश्वास, भय र वैमनस्ययताको त्रिकोणात्मक सम्बन्धलाई पारस्परिक अस्तित्व वोधका साथै विविधताबिचको सहकार्य र समन्वयले मात्र राष्ट्रिय एकता बलियो बनाउँछ । नयाँ समझदारी, बृहत् मिलाप र सर्वपक्षीय (गोलमेच) संवाद नै आजको अपरिहार्य आवश्यकता हो । मैले गोलमेच संवादबारे यसअघि पनि संसदमा पटक पटक राख्दै आएको हुँ । यही बाटोले मात्र राष्ट्रलाई असफलता र सम्भावित गृहयुद्धतिरको खतरालाई रोक्दै नयाँ गतितर्फ उन्मुख गराउने उपचारात्मक कदम हुनसक्छ ।

सबै यतातिर गम्भीर बनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?