काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन् ।
बुधबार बिहान जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले समाजवादी मोर्चामा रहेका दलहरू एकता प्रक्रियामा अग्रसर रहेको बताए । उनले भने, ‘वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिनेछ ।’
दाहालका अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ । मंगलबार मात्रै संसदीय दलहरूसँग भएको छलफलपछि सरकारले निर्वाचनतर्फ गम्भीरता देखाएको उनको भनाइ थियो ।
उनले भने, ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले गम्भीरतापूर्वक वातावरण बनाउनुपर्छ । हिजो मात्रै संसदीय दलहरूसँग भएको वार्ताबाट सरकार बिस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास मिल्छ।’
दाहालले माओवादी केन्द्रले जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल गर्ने र मधेस प्रदेशमा कार्यक्रम गर्ने पहिलो पार्टी भएको दाबी पनि गरे ।
उनले थपे, ‘जेनजी आन्दोलनपछि सार्वजनिक अपिल गर्ने पनि हामी नै भयौँ । काठमाडौं उपत्यकाबाहिर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ । वामपन्थी एकता र ध्रुवीकरणको कुरा समाजवादी मोर्चाका दलहरूसँग मिलेर अघि बढेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया