काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न सबै नेपालीले राष्ट्रिय संकल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् ।
तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेकी हुन् ।
उनले कठिन परिस्थितिमा पनि एकताबद्ध रहने नेपाली मौलिक संस्कृतिको प्रशंसा गर्दै भ्रममा नपरी निराशा र अन्धकारको अन्त्य गरी नयाँ नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्याउँदै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि वातावरण निर्माणमा सरकार दत्तचित्त भएर लागेको बताएकी छन् । उनका अनुसार, राजनीतिक संवाद र सुरक्षास्थिति सुधारका काम सन्तोषजनक रूपमा अघि बढिरहेका छन् ।
‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने हाम्रो प्राथमिक जिम्मेवारी हो,’ सन्देशमा भनिएको छ।
उनले भदौमा भएको ‘महान् जेनजी आन्दोलन’ ले दिएको भरोसा र जिम्मेवारीको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्गमा सरकार अघि बढेको उल्लेख गरेकी छन् ।
सन्देशमा उनले दीपावली र अन्य पर्वहरू अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयका प्रतीक भएको बताउँदै यी पर्वहरूले जीवनमा आशा, विश्वास र समृद्धिको सन्देश दिन्छन् भनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया