काठमाडौं । आज बुद्ध एयर भन्ने बित्तिकै तपाईँ हाम्रो दिमागमा एक सफल एयरलाइन्स, सफलताको आकाशमा उडिरहेको एक सफल व्यवसाय भन्ने आउँछ ।
पूर्व न्यायाधीश, पूर्वमन्त्री समेत बनेका स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको सपनाको उडान बुद्ध एयरका हरेक जहाजको उडानमा देखिन्छ, भेटिन्छ । नेपालमा उड्डयन क्षेत्रमा भविष्य अन्योल नै रहेको अवस्थामा सुरेन्द्रले हवाइ क्षेत्रमा लगानी गरे । त्यसलाई थप उडान भर्ने काम उनका जेठा छोरा वीरेन्द्र बहादुर बस्नेतले गरे । आज बुद्धको सफलतामा वीरेन्द्रको अथक मेहनत लुकेको छ, जुन कुरा उनको हालै प्रकाशित ‘बुद्ध एयर : बाई द बुक’ मा चर्चा गरिएको छ ।
यहाँ न बुद्ध एयरको चर्चा गर्न खोजिएको हो, न त बस्नेत परिवार व्यवसायीक आरोह अवरोहको नै । व्यवसायमा सफल भएर राजनीतिक दल खोलेर नयाँ पाइला अघि बढाएका वीरेन्द्रको नयाँ दलको भविष्य र अवधारणाबारे यहाँ चर्चा गर्न खोजिएको छ ।
***
बिहीबार उनै वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु मिलेर नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । वीरेन्द्र उक्त दलको सदस्य मात्रै रहेका छन् । तर सदस्य मात्र रहेका वीरेन्द्रको किन बढी चर्चा भयो भन्ने प्रश्न पनि आउन सक्छ, त्यसको जिज्ञासा पछि मेटिनेछ । निर्वाचन आयोगमा दर्ता भएको दलको नाम हो, ‘गतिशील लोकतान्त्रिक पार्टी ।’
निर्वाचन आयोगमा दल दर्ता गर्दा अध्यक्षमा पर्यटन व्यवसायी दिपेश प्रसाईँ र महासचिवमा पियूस कायस्त रहेका छन् । बस्नेत आगामी निर्वाचनमा भाग लिनेगरी नै राजनीतिमा अघि बढेका छन् । पार्टीको विधानमा पदाधिकारी निर्वाचनमा भाग लिन नपाउने व्यवस्था रहेका कारण वीरेन्द्र सदस्य मात्र रहेका हुन्, जसकारण उनी आगामी निर्वाचनमा भाग लिन चाहन्छन् र तयारीमा छन् भन्ने जनाउँछ ।
वर्तमान परिस्थितिबाट मुलकुलाई बाहिर निकाल्नुपर्ने निष्कर्षसहित खोलिएको गतिशील लोकतान्त्रिक पार्टीले आफ्नो आह्वानपत्र सार्वजनिक गरेको छ । जसमा राज्य र राजनीतिको मुख्य केन्द्र जनता र जनताका लागि रोजगारी हुनुपर्ने कुरा अघि सारिएको छ ।
हालैको जेनजी आन्दोलन हुनुको परिस्थिति र त्यसपछि घटेका घटना र आगामी दिनमा मुलुकलाई कसरी अघि बढाउने भन्ने विषयमा चिन्तन गरिएको छ ।
‘सबै मिलौँ, देश बचाऊँ, देश बनाऊँ– भदौ २४ ले देखाएको सम्भावना’, आह्वानपत्रको सुरुवातमा भनिएको छ । साथै ०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरता र त्यसले निम्त्याएको बेरोजगारीको समस्याले नै आम नागरिकहरु असन्तुष्ट बन्न पुगेको विश्लेषण गरिएको छ ।
‘अब फेरि विरोधको राजनीति र पेशागत राजनीतितिरै उन्मुख हुने हो भने हिजोको अवस्था भन्दा अझ फरक रुपमा भयावह अवस्था निर्माण हुने डर छ,’ आह्वान पत्रमा भनिएको छ, ‘अब राजनीतिलाई पेसा बनाउन पाइदैन । राजनीतिमा आउनेले निश्चित समयका लागि मात्र आउनुपर्छ । आजको मुल समस्या बेरोजगारी हो । यो समस्यालाई उच्च प्राथमिकतामा राखेर विभिन्न रोडम्यापसँगै समय तालिका निर्धारण गरिनुपर्छ ।’
राजनीतिले बिगारेको नेपाल जस्तो देशका लागि आगामी दिनमा युवाहरु झनै पलायन हुने आँकलन गरिएको छ । तर गतिशील लोकतान्त्रिक पार्टीले भने अहिलेको अवस्थालाई हेरेर कोही पनि देशबाट पलायन हुन नपर्ने जनाएको छ ।
नेपालमा भएको हालैको जेनजी आन्दोलनले विश्वलाई नै चकित बनायो । खासगरी व्यवस्था पटकपटक परिवर्तन हुँदा पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको कटु यथार्थले नै आन्दोलनलाई जन्मायो । राजनीतिक दलहरुले आफ्नो विधान र संविधान नै आफूलाई केन्द्र भागमा राखेर बनाएका कारण जनताको नजरमा पटकपटक असफल बन्दा पनि दल र तिनका नेताहरु सधैँ केन्द्र भागमा रहिरहे । तर गतिशील लोकतान्त्रिक पार्टीले भने आफ्नो दलको संरचनामा अन्य राजनीतिक दल भन्दा फरक देखाउने प्रण गरेको छ । पार्टी नेतृत्व र देशको नेतृत्वमा समेत एकै व्यक्तिको उपस्थितिले दुवैतर्फ राम्रो काम गर्न नसकेको अवस्थामा गतिशील लोकतान्त्रिक पार्टीले भने केही फरक परिदृष्य प्रदर्शन गर्ने तयारी गरेको छ ।
‘हाम्रा लागि सत्ता राज्यदोहनको साधन होईन । पार्टी र सरकारमा एक पद एक व्यक्तिको अवधारणा शुरुदेखि नै लागु गरिनेछ । छोटो अवधिका लागि मन्त्री, प्रधानमन्त्री भएपनि दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न पाइने छैन । अर्थात् दुई कार्यकालपछि ऊ आफ्नो नियमित सामाजिक जीवनमा फर्किनै पर्छ,’ आह्वान पत्रमा भनिएको छ ।
पार्टीको आह्वान पत्रमा उल्लेख भए अनुसार पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्नेछ । त्यतिमात्र होइन पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने, सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई पटकभन्दा बढी प्रतिनिधित्व गर्न नपाईने व्यवस्था समेत गरिएको छ ।
गतिशील लोकतान्त्रिक पार्टीले राजनीतिलाई नै पेसा बनाउने प्रवृत्तिलाई समेत अन्त्य गर्ने घोषणा गरेर अघि बढेको छ । अन्य राजनीतिक दलहरुले तल्लो तहका कमिटीहरुलाई आफ्नो मुख्य शक्तिको रुपमा लिने गरे पनि नयाँ दलका रुपमा आएको गतिशील लोकतान्त्रिक पार्टीले भने कुनै वर्गीय संगठन नबनाउने बताएको छ । त्यति मात्र होइन, आफूहरुले निर्वाचनमा २० प्रतिशत भन्दा कम मत प्राप्त गरेमा सरकारमा सामेल नै नहुने घोषणा समेत गरेको छ । अहिलेको अवस्थामा अन्य राजनीतिक दलहरु भन्दा यो फरक देखिन्छ । राष्ट्रिय दल बन्नु त कता हो कता, एक सिट मात्रै जितेको दल पनि सत्ताको भागका लागि मरिहत्य गर्ने प्रवृत्तिमा यस दलले भने आफूलाई सत्ता लिप्साको राजनीति भन्दा फरक हौँ भन्ने देखाउन खोजेको छ, जुन सराहनीय छ ।
‘हामीले आश्रय र आश्रित राजनीतिलाई बर्जित गरेका छौँ । त्यसैले हाम्रा कुनै पनि वर्गीय संगठन हुने छैन,’ आह्वान पत्रमा भनिएको छ, ‘हाम्रो पूर्णकालिन कार्यकर्ता पनि हुनेछैन । २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा हामी सरकारमा पनि सामेल हुने छैनौँ ।’
जेनजी आन्दोलनपछि उद्योगी व्यवसायीहरु समेत त्रस्त बनेका छन् । आन्दोलन उग्र बन्दा विभिन्न व्यवसायीक प्रतिष्ठानहरु खरानी बनेका छन् । जसले गर्दा आगामी दिनमा नेपालको व्यवसायीक क्षेत्र झनै धरासायी बन्नसक्ने त्रास फैलिएको छ ।
त्यतिमात्र होइन, राजनीतिले बिगारेको नेपाल जस्तो देशका लागि आगामी दिनमा युवाहरु झनै पलायन हुने आँकलन गरिएको छ । तर गतिशील लोकतान्त्रिक पार्टीले भने अहिलेको अवस्थालाई हेरेर कोही पनि देशबाट पलायन हुन नपर्ने जनाएको छ । अहिलेको अवस्थाबाट मुलुकलाई उकास्ने प्रण गरेको दलले आगामी दिनमा कस्तो बाटो लिनेछ, र त्यसले मुलुकलाई कसरी अघि बढाउनेछ भन्ने त हेर्नै बाँकी छ ।
अहिले नयाँ परिवर्तनसँगै नेपाली राजनीतिमा प्रतिशोधको भावना समेत विजारोपण भएको देखिन्छ । पुराना र नयाँ राजनीतिक दलहरुबिच आक्षेपको श्रृंखला समेत सुरु भएको छ ।
‘अहिलेको अवस्थालाई देखेर कोही पनि देशबाट पलायन हुनुपर्दैन । हामी सबै मिलेर देशलाई समृद्धितर्फ फेरि उकास्ने छौँ । यसका लागि सम्पूर्ण देशप्रेमी जनता, उद्योगी, व्यापारी, कर्मचारी, प्रशासक तथा पेशेवर सबैलाई आह्वान गर्दछौँ,’ आह्वानपत्रमा भनिएको छ, ‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ ।’
खासगरी नेपालको उड्डन क्षेत्रमा सफल मानिएका वीरेन्द्रबहादुर बस्नेतसहित पर्यटन क्षेत्रमा सफल व्यक्तिहरु माथिल्लो मोर्चामा रहेर दल खोल्दा केही नयाँ हुने अपेक्षा गरिएको छ । अन्य क्षेत्रबाट आएका केही व्यक्तिहरुले वैकल्पिक राजनीतिक दलहरु यसअघि नै आइसकेका छन् । तर व्यवसायीक क्षेत्र सफल देखिएका पात्रहरु सम्मिलित भइ खुलेको यस पार्टीले उद्योगी व्यवसायीलाई कसरी हेर्छ र आर्थिक क्षेत्र उकास्न कस्ता नीति लिनेछ भन्ने चासोका साथ हेरिएको छ ।
खासगरी सफल व्यवसायी वीरेन्द्र बहादुर बस्नेत रहेको पार्टीले उनको सफल व्यवसाय बुद्ध एयरझै पार्टीले उडान भर्ला या अन्य राजनीतिक दलको भीडमा त्यतिकै हराउला त्यो भने हेर्न बाँकी छ ।
आह्वानपत्र हेर्नुहोस् :
यो पनि…
बुद्ध एयरका मालिक वीरेन्द्र बहादुर बस्नेतले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’
कोभिडकालमा बुद्ध एयर : पहिले कर्मचारीको चुलो बल्यो, त्यसपछि अरु चल्यो
बुद्धको अस्तित्व जोगाउन बीरेन्द्रको त्यो दुःख, शिवेन्द्रले मच्चाएका थिए रडाको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया