बुद्ध एयरका मालिक वीरेन्द्र बहादुर बस्नेतले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपालका सफल व्यवसायी एवं बुद्ध एयरलाइन्सका मालिक वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल खोलेका छन् ।

बस्नेतले ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता समेत गराएका हुन् ।

बिहीबार निर्वाचन आयोगमा ५०७ नम्बरमा उक्त दल दर्ता भएको हो । मुलुकलाई गति दिन लोकतान्त्रिक धारको दल खोलेको बस्नेतले बताएका छन् ।

उक्त दलमा दिनेश प्रसाईँ अध्यक्ष रहेका छन् । प्रसाईँ लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध रहेका साथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत हुन् । प्रसाईँ चर्चित समाजशास्त्रीका रुपमा परिचित छन् । त्यस्तै गतिशील लोकतान्त्रिक पार्टीको महासचिवमा पियूस कायस्त रहेका छन् । कायस्त लामो समयदेखि विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गर्दै आइरहेका थिए । बस्नेत भने सदस्य मात्रै बसेका छन् ।

पार्टीको विधानमा पदाधिकारी चुनावमा भाग लिन नपाउने व्यवस्था रहेको छ । जसकारण बस्नेत भने सदस्य मात्रै बसेका हुन् ।

आगामी निर्वाचनमा भाग लिने तयारीका साथ बस्नेतसहितका व्यक्तिहरुले नयाँ दलको घोषणा गरेका हुन् । राजनीतिक परिवारमा जन्मे हुर्किएका बस्नेतले आगामी निर्वाचनमा भाग लिने समेत तयारी गरेका छन् । बस्नेतका बुबा स्वर्गीय सुरेन्द्र बहादुर बस्नेत न्यायाधीशदेखि मन्त्री समेत बनेका थिए ।

‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ– भदौ २४ ले देखाएको सम्भावना’ मुल नारा दिइएको छ । जसकारण छोटो समयको तयारीमा वर्तमान परिस्थितिबाट मुलुकलाई नयाँ मोडमा लैजाने उदेश्यसहित नयाँ दल खोलिएको बस्नेतले प्रतिक्रिया दिएका छन् ।

त्यसो त बुद्ध एयरलाई सफलताको आकाशमा पुर्‍र्याएर सफल व्यवसायी कहलिएका बस्नेतले राजनीतिमा योगदान दिन राजनीतिक दल खोलेको बताउँछन् ।

साथै राजनीतिलाई पेसाका रुपमा लिनेहरुका कारण अहिलेको अवस्था आएको बताउँदै फरक पेसा व्यवसायका व्यक्तिहरु राजनीतिमा आउनुपर्ने उदेश्यसहित नयाँ दल गठन गरिएको प्रस्तावनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?