काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमास समूहको आक्रमणमा परी मृत्यु भएका विपिन जोशीको निधनप्रति दुख व्यक्त गरेकी छन् ।
शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले गरेका पहल र दुई वर्षदेखिको सबै आशा र सपनाहरु छिन्नभिन्न भएको बताएकी छन् ।
‘सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय शिकार बन्नुभएको छ । उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्त कामना गरिरहेका थिए ।
उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरुलाई छिन्नभिन्न पारेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
विपिन जीवित नरहे पनि उनले अन्तिम समयमा ग्रिनेड फालेर साथीहरुको ज्यान बचाउँदै देखाएको बहादुरीको प्रशंसा गरेकी छिन् । विपिनको उक्त कार्य वीरताको प्रतिक रहेको भन्दै सधैँ नेपाली गौरवको प्रतिकका रुपमा जीवित रहने बताइन् ।
‘उहाँ त अब हामीमाझ रहनुभएन । तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभुतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरुको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ । उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रुपमा जीवित राख्नेछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
इजरायल र हमासबिच युद्धविराम भएसँगै विपिन पनि रिहा हुने आशा गरिएको थियो । सोमबार हमासले २० बन्दीलाई जीवित अवस्थामा रिहा गर्दा विपिन नछुटेपछि विभिन्न अड्कलहरु गरिएका थिए । साथै अन्तिम अवस्थासम्म विपिन सकुशल रिहाइ हुने आशा गरिएकोमा सोमबार साँझ उनी जीवित नरहेको खबर बाहिरिएको थियो । हमासले इजरायललाई शव हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया