भारतमा सवारीसाधनको कर घट्यो, नेपालमा पनि मूल्य घट्ने संकेत

लोकपथ
1k
Shares

काठमाडौं । भारत सरकारले हालै अटोमोबाइल क्षेत्रमा लागू हुने वस्तु तथा सेवाकर (जीएसटी) घटाएको छ । नयाँ जीएसटी २.० प्रणाली लागू भएपछि भारतमा कार, मोटरसाइकल, स्कुटर, ट्रक, पिकअप र सामान ढुवानीका अन्य सवारीसाधनको करको दर घटेको छ । 

भारत सरकारले अटोमोबाइलसँग सम्बन्धित वस्तु तथा सेवाको करको दर घटाउने निर्णय गरेसँगै यसले उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याएको छ । साथै पछिल्लो समय ईभी गाडीले डोमिनेट गरेको अटोमोबाइल बजारमा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने अपेक्षा समेत गरिएको छ ।

सबैभन्दा पहिला, पेट्रोल, हाइब्रिड, एलपीजी र सीएनजीमा चल्ने साना कारहरूमा करको दर घटाइएको छ । १२०० सीसी वा सोभन्दा कम क्षमताका कारहरूमा पहिले २८ प्रतिशत लागू हुने करलाई अहिले १८ प्रतिशतमा झारिएको छ । यसले साधारण परिवारका लागि सवारीसाधन किन्न सजिलो बनाउनेछ । करको दर घट्दा कारको मूल्यमा प्रत्यक्ष रूपमा १० प्रतिशतसम्मको कमी आउने अनुमान गरिएको छ ।

त्यस्तै, डिजेल वा डिजेल हाइब्रिड कारहरूमा पनि करको दर घटाइएको छ । १५०० सीसीभन्दा कम क्षमताका डिजेल कारमा अब १८ प्रतिशत मात्र जीएसटी लाग्ने भएको छ । यसले टोयोटा, हुन्डाइ, टाटा लगायतका प्रमुख ब्राण्डका विभिन्न मोडेलहरूमा मूल्य घटाउने अपेक्षा गरिएको छ । साना पारिवारिक कार र रोजगारी प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनको मूल्य घट्दा ग्राहकलाई किफायती विकल्प उपलब्ध हुने भएको छ ।

१५०० सीसीभन्दा कम क्षमताका डिजेल कारमा अब १८ प्रतिशत मात्र जीएसटी लाग्ने भएको छ । यसले टोयोटा, हुन्डाइ, टाटा लगायतका प्रमुख ब्राण्डका विभिन्न मोडेलहरूमा मूल्य घटाउने अपेक्षा गरिएको छ ।

तीनपांग्रे सवारी साधन अर्थात् अटो र टेम्पो जस्ता सार्वजनिक यातायातका साधनमा पनि करको दर २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ ।

३५० सीसीसम्मका मोटरसाइकलमा पनि करको दर घटाइएको छ । हिरो स्प्लेन्डर, होन्डा साइन, बजाज पल्सर, टिभिएस अपाचे जस्ता लोकप्रिय मोडेलहरूमा अब करको दर १८ प्रतिशत मात्र लागू हुनेछ ।

त्यस्तै सामान ढुवानीका लागि प्रयोग हुने ट्रक, पिकअप र अन्य मोटर गाडीहरूमा पनि जीएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ । यसले व्यावसायिक सवारी साधन आयातकर्ता र व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने छ । तर, भारतमा सस्तो हुने यी साधनमध्ये सबै सवारीसाधनमा करको दर समान रूपमा भने घटाइएको छैन ।

लक्जरी सवारीमा कर बढ्यो

लक्जरी र उच्च क्षमताका सवारी साधनमा भने करको दर वृद्धि गरिएको छ । मोटर कार र अन्य व्यक्तिगत यातायातका लागि डिजाइन गरिएका सवारी साधन (हेडिङ ८७०२ बाहेक), स्टेसन वैगन र रेसिङ कारमा कर २८ प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्‍याइएको छ । यसले लक्जरी कार तथा विशेष प्रयोजनका गाडीको मूल्यमा वृद्धि हुनेछ ।

त्यस्तै १२०० सीसीभन्दा बढी इन्जिन क्षमता भएका स्पार्क–इग्रिसन आन्तरिक दहन रेसिप्रोकेटिङ पिस्टन इन्जिनसहित इलेक्ट्रिक मोटरले सञ्चालित सवारीमा पनि ४० प्रतिशत कर लागू गरिएको छ । यसले उच्च क्षमताका सवारी साधन आयातकर्तालाई थप कर तिर्नुपर्ने अवस्था सिर्जना गर्नेछ ।

३५० सीसीभन्दा बढी इन्जिन भएका मोटरसाइकल र आनन्द वा खेलकुदका लागि प्रयोग हुने याट तथा अन्य जहाजमा पनि करको दर २८ प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्‍याइएको छ । यसले लक्जरी मोटरसाइकल र मनोरञ्जनात्मक सवारी साधनको मूल्य बढ्ने छ । 

भारतको कर प्रणालीले नेपालमा असर

नेपालमा बिक्री हुने सवारीसाधनमध्ये करिब ८० प्रतिशत भारतबाट आयात हुने भएकाले त्यहाँको मूल्य परिवर्तनले नेपालमा पनि असर पार्ने निश्चित छ । भारतमा उत्पादन लागत र बिक्री मूल्य घट्दा नेपालका आयातकर्ताले पनि सस्तो मूल्यमा सवारीसाधन ल्याउन सक्नेछन् ।

तर नेपालमा भन्सार, भ्याट र अन्य कर उच्च भएकाले उपभोक्ताले तत्कालै ठूलो मूल्यको कमी आउने आश नगरे पनि हुन्छ । दीर्घकालमा मात्र प्रतिस्पर्धात्मक बजार निर्माण हुँदै साना कार, मोटरसाइकल र सार्वजनिक यातायातका साधन सस्तो हुने अपेक्षा गरिएपनि तत्कालै यस्ता सवारीसाधनको मूल्यमा कमी आउने सम्भावना भने निकै न्यून मात्रै रहेको छ ।

विशेषज्ञहरूको भनाइ छ कि भारतको नयाँ कर प्रणालीले उपभोक्ता, आयातकर्ता र व्यवसायी सबैलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ । सस्तो सवारीसाधनले मध्यम वर्गका परिवारलाई किफायती विकल्प उपलब्ध गराउने छ भने लक्जरी सवारीमा बढेको करले आयातकर्तालाई सोच्न बाध्य पार्नेछ ।

यसरी भारतमा करको दर घट्दा नेपालको सवारी बजारमा समेत दीर्घकालीन प्रभाव पार्ने निश्चित छ । नेपालका उपभोक्ताले छोटो अवधिमा सस्तो मूल्य अनुभव गर्न नपाए पनि प्रतिस्पर्धात्मक बजार र आयातकर्ताको निर्णयले सवारीसाधनहरुको मूल्यमा कमी आउने सम्भावना भने कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?