काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेनजीका मागहरू तत्काल पूरा नहुने बताएका छन् ।
सभामुख देवराज घिमिरेसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान संवैधानिक र राजनीतिक अवस्थाका कारण ती मागहरू अबको ६ वर्षपछि मात्रै पूरा हुने स्थिति रहेको बताए ।
उनका अनुसार संसद् विघटन नभएको भए अहिलेको संसद्बाटै संविधान संशोधन गरेर जेनजीका मागहरू सम्बोधन गर्न सकिन्थ्यो । ‘तर अहिले त्यो अवस्था छैन,‘उनले भने, ‘अब आउने संसद् निर्वाचित भएर आएको करिब कार्यकालको अन्त्यतिर मात्रै संविधान संशोधन गरेर ती मागहरू पूरा गर्न सकिनेछ ।’
उपाध्यक्ष पाण्डेले वर्तमान प्रधानमन्त्री संविधानसम्मत तरिकाले सत्तामा नआएको दाबी पनि गरे । उनले भने, ‘अहिलेका प्रधानमन्त्री संविधानअनुसार बन्नुभएको प्रधानमन्त्री होइन । मन्त्रीहरू पनि निर्वाचन गराउनेतर्फ होइन, राजनीतिक दलसँग मुठभेड गराउनेतर्फ लागेका छन् । अन्तरिम सरकारका मन्त्रीहरू नै चुनाव नहुनेजस्ता वक्तव्य दिँदै हिँडिरहेका छन् ।’
उनले चुनावसम्बन्धी छलफल सिंहदरबारमा हुनुपर्नेमा शितल निवासमा बोलाइएको भन्दै आपत्ति जनाए । ‘यो राजनीतिक विषय हो, त्यसैले राजनीतिक स्थलमा नै छलफल हुनुपर्ने थियो, ‘पाण्डेले भने ।
उनी अनुसार हाल ८ हजार कैदीबन्दी फरार छन्, १ हजार २ सयभन्दा बढी हातहतियार लुटिएका छन् र ९८ हजार गोली हराइरहेका छन्, जसकारण आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने अवस्था देखिएको छ ।
उनले भने, ‘संविधानको केही धाराहरू गलत रूपमा प्रयोग गरिएका छन् । संसद् बाँचेको भए जेनजीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी, २१ वर्षमै सांसद उठ्ने अधिकारजस्ता मागहरू यही संसद्बाटै पूरा गर्न सकिन्थ्यो । तर त्यो अवसर गुमियो । अब ती मागहरू पूरा हुन कम्तीमा ६ वर्ष लाग्छ ।’
पाण्डेले भने, ‘डिरेल भएको संवैधानिक अवस्थालाई फेरि लिकमा ल्याउने काम निर्वाचनले नै गर्छ । जनताको ताजा जनादेश नै समाधान हो । तर अहिले चुनावको वातावरण छैन, बरु सरकारले नै त्यसलाई असम्भव बनाउन खोजिरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया