काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालका अनुसार, कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।
समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार, धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको शुभ साइतमा टीका लगाउन सकिन्छ। उनले भने, ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाए। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन ।’
यस वर्ष यमपञ्चक पर्व कात्तिक १ गते शनिबारदेखि सुरु हुँदैछ । त्यही दिन यमदीप दान, धन त्रयोदशी र धनतेरस मनाइनेछ । कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार नरक स्नानसहित कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ४ गते औँसी तिथि अनुसार स्नान र दान, कात्तिक ५ गते गाई, गोरु र आत्म पूजा, साथै नेपाल संवत् ११४६ अनुसार नयाँ वर्ष मनाइने छ ।
भाइटीका (भाइपूजा वा नेवारी भाषामा किजापूजा) कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा मनाइनेछ । शास्त्रीय ग्रन्थ अनुसार भाइटीकामा ज्येष्ठको क्रमअनुसार दाजुभाइलाई टीकाटाला गर्नु शुभ मानिन्छ ।
समितिले प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म यमपञ्चक पर्व मनाउने परम्परा कायम रहेको जनाएको छ । यसमा यमदीपदान गरिने र काग र कुकुरलाई यमदूतका रूपमा मीठा परिकार दिएर खुसी पार्ने वैदिक परम्परा पालना गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया