गैरआवासीय नेपाली संघले नेपालमा एक खर्ब लगानी भित्र्यायो

लोकपथ
203
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा करिब एक खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याएको जनाएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो तथ्यांक सार्वजनिक गरेको हो ।

२२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा.बद्री केसी ले गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान दिइरहेको बताए ।

अध्यक्ष केसीले भने, ‘हामीले कमाएको केही अंश मात्रै नेपालमा पठायौं भने पनि नेपालको अर्थतन्त्रमा ठुलो सुधार ल्याउन सकिन्छ । अहिलेको अवस्थामा शिक्षादेखि बैंकिङ, कृषि, हाइड्रोलगायतका विभिन्न क्षेत्रमा एनआरएनहरूको एक खर्बभन्दा बढी लगानी भइसकेको छ ।’

उनका अनुसार हाल देशका विभिन्न दुर्गम क्षेत्रहरूमा देखिने आधुनिक क्याफे, प्रविधिमैत्री कृषि फार्म र साना उद्यमहरू गैरआवासीय नेपालीहरूको लगानी र सीपको परिणाम हुन् ।

डा.केसीले विदेशमा सिकेको सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्न संघ प्रतिबद्ध रहेको बताए । उनले थपे, ‘हामीले जहाँ सीप सिक्यौँ, जहाँ कमायौँ अब त्यो सीप र लगानी नेपालमै प्रयोग गर्ने समय आएको छ ।’

एनआरएनएले विश्वभर नेपाललाई चिनाउने अभियानमा सक्रिय रहेको बताउँदै अध्यक्ष केसीले राजदूतावास नपुगेका देशहरूमा समेत नेपालीहरूले आफ्नो पहिचान स्थापित गराएको उल्लेख गरे ।

संघले आगामी दिनमा पनि उत्पादन, रोजगारी र सीप प्रवर्द्धनका क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?