काठमाडौं । विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरुको एक समूहले समयमा नै तोकिएको निर्वाचन नभएमा देशमा थप संवैधानिक संकट निम्तिने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
विभिन्न पेसा व्यवसायमा आवद्ध वुद्धिजीविको समूहले विज्ञप्ति जारी गर्दै सरकारलाई भयरहित वातावरणमा निर्वाचनको माहोल बनाउन आग्रह गरेको हो ।
‘नागरिकको अभिमत लिने वा वैधानिक परीक्षण गर्ने थलो भनेको नै निर्वाचन हो । कुनै पनि लोकतान्त्रिक दल निर्वाचनबाट भाग्न मिल्दैन । वर्तमान सन्दर्भमा कदाचित् फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुन नसकेमा गम्भीर संवैधानिक एवं राजनीतिक संकट उत्पन्न हुने हुँदा सम्पूर्ण राजनीतिक दलहरु र सम्पूर्ण नागरिक पंक्तिलाई उत्साहपूर्ण वातावरणमा निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै वर्तमान परिस्थिति सिर्जना हुनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका मुलधारका दलहरु जिम्मेवार रहेको समेत समूहले ठहर गरेको छ । साथै अहिलेको अवस्थामा हरेक दलले आफ्नो पार्टी नेतृत्व परिवर्तन गरी नागरिकमा दलहरुप्रतिको विश्वास बढाउन समेत आग्रह गरिएको छ ।
‘लोकतान्त्रिक प्रणालीमा लोकतन्त्रको विकल्प सम्मुन्नत लोकतन्त्र हौ र दलहरुको विकल्प समयअनुसार परिष्कृत दलहरु नै हुन् । वर्तमान परिस्थितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका विघठित संसदमा प्रतिनिधित्व गर्ने दलका अलोकप्रिय बनेका सभापति एवं अध्यक्षसहितका नेताहरुले नागरिकको चाहना अनुरुप दलहरुलाई पुनगर्ठन, रुपान्तरण, शुद्धीकरणसहितको नयाँ नेतृत्व चयन गरी पार्टीलाई थप अलोकप्रीय हुनबाट जोगाउँदै नागरिकप्रति उत्तरदायी बन्न हार्दिक आग्रह गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
शासकीय कमजोरी र सुझबुझको कमीले मुलुकमा विदेशी हस्तक्षप बढिरहेको भन्दै त्यसलाई निराकरण गर्न राष्ट्रिय शक्तिहरुबिच सहमति, सहकार्य र एकताको वातावरण सिर्जना गर्न समेत आग्रह गरिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया