विपदग्रस्त क्षेत्रमा गुणस्तरीय राहत वितरण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

लोकपथ
42
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपदग्रस्त क्षेत्रमा वितरण गरिने खाद्यान्न, पिउने पानी र लत्ताकपडाको गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बिहीबार विपद् व्यवस्थापनका विषयमा आयोजित छलफल कार्यक्रममा संकटको समयमा वितरण गरिने राहत सामग्री स्तरहीन भए महामारी फैलिने जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरे ।

उनले भने, ‘मानवीय संवेदनामा सचेत भएर काम नगरे अबको एक(दुई हप्तामा महामारी फैलिन सक्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोतको पानी भए पनि उमालेर मात्र पिउनुपर्छ भन्ने सन्देश सबै नागरिकसम्म पुर्‍याउनुपर्छ ।’

प्रवक्ता बुढाथोकीले विपद्ग्रस्त क्षेत्रमा वितरण गरिने मिनरल वाटरको गुणस्तर सुनिश्चित गर्नुपर्ने र त्यस्तो पानी उमालेर प्रयोग गर्नुपर्ने सन्देशसहित वितरण गर्नुपर्ने बताए ।

उनले खाद्यान्न र लत्ताकपडाको गुणस्तरमा पनि ध्यान दिन आग्रह गर्दै भने, ‘ताजा खानेकुरा बनाएर वितरण गर्नु सबैभन्दा राम्रो हो । त्यो सम्भव नभए तयारी खानेकुरा वितरण गर्दा म्याद अनिवार्य रूपमा जाँच्नुपर्छ । म्याद गुज्रिएको वा अस्वच्छ खानेकुरा वितरणले अर्को महामारी फैलाउन सक्छ ।’

मन्त्रालयका अनुसार डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरू दूषित भएका कारण पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा, झाडापाखाला, टाइफाइडजस्ता रोग फैलिन सक्ने जोखिम रहेको छ । त्यसैले मन्त्रालयले सबै सरोकारवालालाई राहत वितरण र स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?