काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् ।
मन्त्रालयमा बुधबार भएको कृषि पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले किसानलाई प्रतिक्विन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्नेमा ७० रुपैयाँ मात्रै दिएको बताए । उनले गत वर्ष त्यसमा पनि आधा कटौती गरी ३५ रुपैयाँ मात्रै भुक्तानी गरिएको जानकारी दिए ।
मन्त्री परियारले किसानको रकम किन घटाइएको भन्नेबारे आफूलाई थाहा नभएको बताए । उनले किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकाले सरकारले सोहीअनुसार भुक्तानी थाल्ने प्रक्रिया सुरु गरेको बताए । उनका अनुसार उखु किसानको अनुदान भुक्तानीका लागि थप ८० करोड रुपैयाँ बराबरको दायित्व सरकारमाथि थपिनेछ ।
मन्त्री परियारले दुग्ध विकास संस्थानले पनि ठुलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताए । संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको र दसैँअघि ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हालसम्म ३० करोड भुक्तानी भइसकेको जानकारी दिए ।
उनले भने, ‘५३ करोड अहिले बुझाउनुपर्नेछ किसानहरूको । अहिले मलाई बारम्बार फोन र म्यासेजहरू आइरहेका छन् । केही किसानले दूध बिक्री गरेको भोलिपल्टै पैसा कहिले तिर्नुहुन्छ भन्छन् । अलिकति धैर्य राख्नुस्, अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा भइरहेको छ । अब चार महिनाभित्र सबै भुक्तानी हुने अपेक्षा छ ।’
उनले थपे, ‘उखु किसानको पनि समस्या छ । ७५ रुपैयाँ प्रोत्साहन भनेर सरकारले दिने भनिएकोमा अहिले ७० रुपैयाँ दिइरहेको रहेछ । गत वर्ष यो घटाएर ३५ रुपैयाँ बनाइयो । अब ४०र५० हजार किसानले ७० रुपैयाँ माग गरिरहेका छन्, जसका कारण ८० करोड बराबरको दायित्व थपिँदैछ । किसानको मर्का बुझ्नुपर्छ, किन पहिले दिइँदै आएको रकम अकस्मात घटाइयो ?’
मन्त्री परियारले कृषि तथा पशु बीमा, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्ने लगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया