गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो ।
सेप्टेम्बर-अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यस वर्ष पर्यटक आगमन घटेको छ । यसका प्रमुख कारणमा ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम तथा आन्तरिक र बाह्य राजनीतिक अस्थिरता उल्लेख गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा.रवीन कडरियाका अनुसार, ‘मुख्य पर्यटकीय याम सुरु हुँदै गर्दा जेनजी प्रदर्शनले असर पुर्यायो, कतिपय विदेशी पर्यटकले आफ्नो यात्रा रद्द गरे । मुक्तिनाथलगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्या पनि घटेको छ ।’
उनले अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेको जानकारी दिँदै पर्यटकहरूलाई ढुक्क भएर भ्रमण गर्न आग्रह गरे । साथै, नेपाली ठुला चाडपर्वको अवसरमा आन्तरिक पर्यटकको भ्रमणका लागि पनि यही समय उपयुक्त रहेको उल्लेख गरे ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुन हिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार, बुधबार झण्डै २०० विदेशी पर्यटकले घोरपानी–पुन हिल क्षेत्रको भ्रमण गरेका छन् । केही दिनयता पर्यटक आगमन बढेको भए पनि अघिल्ला वर्षको तुलनामा कम रहेको उनले बताए ।
घोरपानीका होटल व्यवसायी डमबहादुर पुनले भने, ‘हाम्रो होटलमा आउन लागेका २७ वटा विदेशी पर्यटक समूहले बुकिङ रद्द गरेका छन् ।’
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वटा वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जीवनशैली र संस्कृति सहित आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
डा.कडरियाले नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वमा पुर्याएर पर्यटनलाई नियमित लयमा फर्काउन सरकार र सम्बन्धित सबै पक्ष सक्रिय हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया