काठमाडौं । २०८२ सालमा सरदर भन्दा बढी वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका थिए । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार वर्षा यामका अन्य महिनाभन्दा असोज महिनामा अत्यधिक वर्षा भयो । देशभरका पाँच स्थानमा वर्षाले रेकर्ड तोडेको विभागले जनाएको छ । इलामको इलाम गाउँ, इलामकै इलाम टि–स्टेट, पर्साको वीरगञ्ज र रौतहटको गौरमा अति उच्च वर्षा भएको हो ।
विभागका अनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड तोडेको हो । यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचीमा पर्साको वीरगञ्ज परेको छ । वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । इलामकै इलाम टि–स्टेटमा पनि यस वर्ष २ सय ८० मिलिमिटर वर्षा भएको छ, जुन विगतको २ सय ७३ दशमलव २ मिलिमिटर वर्षाको रेकर्ड भन्दा बढी हो । यी चारै स्थानमा वर्षाले नयाँ रेकर्ड बनाएको विभागले जनाएको छ ।
यस वर्षको वैशाख १ गतेदेखि असोज २० गतेसम्म विपद् सम्बन्धी ४ हजार १ सय ६४ वटा घटना भएका छन् । जसमा ३ सय ८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । त्यस्तै १ हजार १ सय १३ जना घाइते र ८ हजार ५ सय ९५ परिवार प्रभावित भएका छन् ।
बाढीबाट ३१ जनाको मृत्यु
वैशाख १ गतेदेखि असोज २० गतेसम्मको अवधिमा बाढीका ३ सय ७ वटा घटनामा ३१ जनाको मृत्यु, २३ जना बेपत्ता र १५ जना घाइते भएका छन् । बाढीबाट ३ हजार २ सय ९७ परिवार प्रभावित बनेका छन् ।
पहिरोका घटना ५ सय ३९ वटा
यस अवधिमा पहिरोका ५ सय ३९ घटना भएका छन् । जसबाट ६५ जनाको मृत्यु, ९ जना बेपत्ता र ७७ जना घाइते भएका छन् । ७ सय ५७ परिवार पहिरोबाट प्रभावित भएका छन् ।
भारी वर्षाका ४०१ घटना
वैशाखदेखि असोज २० सम्म भारी वर्षाका ४०१ घटना भएका छन् । जसबाट ७ जनाको मृत्यु, १८ जना घाइते र ९ सय ७८ परिवार प्रभावित भएका छन् ।
चट्याङबाट ४५ जनाको मृत्यु
३ सय ४६ वटा चट्याङका घटनामा ४५ जनाको मृत्यु, २ सय ५६ जना घाइते र ४ सय २५ परिवार प्रभावित भएका छन् ।
सर्पदंशबाट ८७ जनाको मृत्यु
४ सय ३९ वटा सर्पदंशका घटनाबाट ८७ जनाको मृत्यु, ३ सय ५६ जना घाइते र ४ सय ४५ परिवार प्रभावित भएका छन् ।
आगलागीका १ हजार ३ सय ८७ घटना
वैशाखदेखि असोज २० सम्म आगलागीका १ हजार ३ सय ८७ घटना भएका छन् । जसबाट २४ जनाको मृत्यु, १ सय ९१ जना घाइते र १ हजार ५ सय १० परिवार प्रभावित बनेका छन् ।
डढेलोका १ सय ५८ घटना
वन–डढेलोका १ सय ५८ घटनाबाट २ जना घाइते र २७ परिवार प्रभावित भएका छन् ।
हावाहुरीबाट ८ जनाको मृत्यु
२ सय ८५ वटा हावाहुरीका घटनाबाट ८ जनाको मृत्यु, ४४ जना घाइते र ५ सय ४२ परिवार प्रभावित भएका छन् ।
जनावर आक्रमणबाट २२ जनाको मृत्यु
जनावर आक्रमणका २ सय ३८ घटनामा २२ जनाको मृत्यु, १ जना बेपत्ता, १ सय ८ जना घाइते र ३ सय ९५ परिवार प्रभावित भएका छन् ।
लेक लागेर १९ जनाको मृत्यु
६१ वटा लेक लाग्ने घटनाबाट १९ जनाको मृत्यु, ४५ जना घाइते र ५९ परिवार प्रभावित भएका छन् । ढुंगा पल्टिएर २ वटा घटनामा १ जना घाइते र ५ परिवार प्रभावित भएका छन् । महामारीको एउटा मात्रै घटनाबाट १ सय ५५ परिवार प्रभावित भएका छन् ।
असोज १९ गते मात्रै ५३ जिल्ला प्रभावित
असोज १९ गते बिहान १० बजेदेखि २० गते बिहान १० बजेसम्म मात्रै बाढीबाट १५ जिल्ला प्रभावित बनेका छन् । ३९ घटनामा १ जना बेपत्ता र ५ सय ५७ जनाको उद्धार भएको छ । ३ सय ७८ जना प्रहरी परिचालन गरिएको थियो ।
त्यस्तै, पहिरोबाट १२ जिल्ला प्रभावित भए । २१ घटनामा १ जनाको मृत्यु, ३ जना घाइते र ३ सय १४ जना प्रहरी परिचालन गरिएको थियो । अविरल वर्षाबाट ५ जिल्ला प्रभावित हुँदा ८ घटनामा १ जनाको मृत्यु, १ घाइते र २१ जनाको उद्धार भएको थियो ।
यो अवधिमा कुल ५३ जिल्ला प्रभावित भएका छन् । ९४ वटा घटनामा ४ जनाको मृत्यु, १ जना बेपत्ता र १७ जना घाइते भएका छन् । ५ सय ७८ जनाको उद्धार र ९ सय प्रहरी परिचालन गरिएको थियो ।
त्यस्तै, १९ वटा पशुचौपायाको क्षति भएको र १८ वटा सडक अवरोध हुँदा करिब ६१ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको सरकारको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया