काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन पूर्णरूपमा बाहिरिएको हो ।
विभागकाअनुसार लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानबाट पनि मनसुन बाहिरिएको छ । यद्यपि यी प्रदेशका केही भागमा अझै मनसुन सक्रिय रहेको छ।
विभागले (आज) सोमबार दिउँसो जारी गरेको नक्साअनुसार पश्चिम नेपालका अधिकांश भागमा मनसुन समाप्त भइसकेको छ भने देशका मध्य र पूर्वी भू-भागका केही स्थानमा अझै मनसुनको प्रभाव बाँकी रहेको छ।
महाशाखाका अनुसार कमजोर बन्दै गएको मनसुनी प्रणालीका कारण बाँकी भू-भागमा पनि आगामी केही दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको छ।
मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष मनसुन १५ दिन अगावै, अर्थात् जेठ १५ गते नेपालमा प्रवेश गरेको थियो । प्रारम्भमा मनसुन कोशी प्रदेशका अधिकांश भागमा सीमित रहेकामा जेठ २९ गतेसम्म मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागसम्म फैलिएको थियो । असार ६ गतेबाट भने मनसुन देशभर फैलिएको थियो ।
यस वर्ष मनसुन १५ दिन अगावै प्रवेश गरे पनि बाहिरिन केही ढिलो भएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया