काठमाडौं । असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण देशभर अहिलेसम्म ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै इलाममा ३७ जना को मृत्यु भएको छ ।
प्राधिकरणका अद्यावधिक विवरणअनुसार रौतहटमा ३ जना, पाँचथर, खोटाङ र उदयपुरमा जनही १ जना गरी अन्य जिल्लामा पनि जनहानि भएको छ ।
यसैबीच पाँच जना बेपत्ता भएका छन् । तीमध्ये स्याङ्जामा ४ जना खोलाले बगाएको र इलाममा १ जना पहिरोमा पुरिएको प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म १२ जना घाइते भएको तथ्यांक आएको छ । घाइतेमध्ये इलामका ४ जना, भोजपुरका ३ जना, खोटाङका ३ जना, पाँचथरका १ जना र मकवानपुरका १ जना रहेका छन् ।
वर्षाले सडक अवरुद्ध र बस्ती डुबानमा परेका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
सरकारले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी सञ्चालन रोक्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । स्थानीय प्रशासनहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र उद्धार तथा राहत कार्यमा सुरक्षा निकाय परिचालन गरेको जनाएको छ ।
शनिबार मात्रै पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया