मधेस र बागमती प्रदेशमा अत्यधिक वर्षा : मनोहरा र बागमती नदीले सतर्कता तह पार गरे

लोकपथ
833
Shares

काठमाडौं । मधेस प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा अत्यधिक वर्षा भइरहेको र अति उच्च जोखिम रहेको सरकारले जनाएको छ । अति उच्च जोखिममा तराईका मधेस प्रदेशस्थित पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी रहेका हुन् ।

त्यस्तै बागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ र रसुवामा अत्यधिक वर्षा भइरहेको र यी जिल्लालाई पनि अति उच्च जोखिममा वर्गीकरण गरिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताए । उनकाअनुसार सरकारले हालको अवस्थालाई मध्यनजर गरी तीन वटा चरणमा वर्गीकरण गरेको छ । जसअनुसार उच्च जोखिममा मधेस प्रदेशका बारा, रौतहट, सर्लाही र महोत्तरी छन् ।

विनोद पराजुली

यी जिल्लाहरुमा १ सय १० मिलिमिटर वर्षा भइसकेको छ । त्यस्तै बागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ र रसुवा जिल्ला पनि उच्च जोखिममा छन् । त्यस्तै दोस्रो उच्च जोखिममा रहेका जिल्लाहरुमा मधेस प्रदेशका सिराहा, धनुषा, सप्तरी रहेका छन् भने कोशी प्रदेशका उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, मोरङ र झापा छन् । वरिष्ठ जलविज्ञान विज्ञ पराजुलीकाअनुसार तेस्रो सबैभन्दा धेरै उच्च जोखिम कोशी प्रदेशको इलाम, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु रहेका छन् भने बागमती प्रदेशका रामेछाप, दोलखा र चितवन रहेका छन् । 

उनकाअनुसार बारा, पर्सा र रौतहटमा भारी वर्षा भएको थियो । यी जिल्लाहरुमा ३ बजेसम्म वर्षा करिब २ सय मिलिमिटरसम्म भइसकेको छ । पछिल्लो तीन घण्टामा सय मिलिमिटरसम्म वर्षा भएको जानकारी दिए । बाराको कलैया, पर्साको वीरगन्ज लगायतका उक्त जिल्लाका सबै केन्द्रहरुमा वर्षाले खतराको तह पार गरिसकेको बताए । तराईका जिल्लामा डुबान सुरु भएको र स्थानीयवासीहरु सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको बताए । राति पहाडी र पूर्वी क्षेत्रमा विस्तार हुने भएकाले थप वर्षा हुने बताए । यसले काठमाडौं आसपासका जिल्लाहरुमा क्षति गर्न सक्ने बताए ।

बागमती नदीको तराईको क्षेत्रमा बहाव साढे चार मिटर पुगेको बताए । आज बेलुकीसम्म सतर्कताको तह पार हुने बताए । काठमाडौं उपत्यका, मकवानपुरको तल्लो तटीय क्षेत्रका सबै खोलानालाहरुमा सतर्कता तहमा रहेको बताए । मरिन नदी र कमला नदी, पूर्व राप्ती पनि पनि सतर्कताको तहमा रहेको बताए ।

अहिलेको वर्षा दुई सय मिलिमिटरको वर्षा रहेको र यो अति भारी वर्षा रहेको बताए । पछिल्लो जानकारीअनुसार ९ वटा केन्द्रमा खतराको तह पार भएको बताए । बागमती नदी जलाधारअन्तर्गत बाराको सिमरा विमानस्थल रहेको छ । जसमा पछिल्लो १२ घण्टामा १ सय ३७ मिलिमिटर र पछिल्लो २४ घण्टामा १ सय ३८ मिलिमिटर वर्षा भएको बताए ।

बाराको निजगढमा पछिल्लो १२ घण्टामा १२४ मिलिमिटर वर्षा भएको छ भने बाराको परवानीपुरमा १५९ मिलिमटिर वर्षा पछिल्ला १२ घण्टामा भएको बताए । वीरगन्जमा २ सय मिलिमिटर वर्षा पछिल्लो १२ घण्टामा भएको छ । रौतहटको गौरमा पछिल्लो १२ घण्टामा २१२ मिलिमिटर वर्षा भएको छ भने रौतहटको गरुडामा १२६, रौतहटकै महेश्वरमा २०५ मिलिमिटर वर्षा भएको छ । पर्साको रंगपुरमा १३५ र पर्साकै मुडलीमा १७६ मिलिमिटर वर्षा पछिल्लो १२ घण्टामा भएको छ । 

काठमाडौंमा पछिल्लो १२ घण्टामा दक्षिणी क्षेत्रतर्फ भारी वर्षा भएको छ । लेलेमा ८६ मिलिमिटर, गोदावरीमा ९७ मिलिमिटर, खोपासीमा ८७, नैकापमा ८२ र कोर काठमाडौंको क्षेत्रमा कपनमा ५०, सुन्दरीजलमा ५०, पानी पोखरीमा ५० मिलिमिटर वर्षा भएको छ । तीन घण्टामा ३० मिलिमिटर भन्दा बढी वर्षा भएको अवस्थालाई काठमाडौंको सहरी क्षेत्रमा जोखिमको तह मानिएको बताए ।

काठमाडौंमा पनि बिस्तारै जोखिम बढ्दै गएको बताए । काठमाडौं केन्द्रभित्रका दुई वटा जलमापन केन्द्रमा सतर्कता तह पार भएको छ । बालकुमारी महनोहरा खोलाले र बागमतीले खोकनामा सतर्कता तह पार गरेको बताए । मनोहरामा ४.४ मिटर सतर्कताको तह थियो भने अहिले ४.४३ मिटर पुगेको छ भने खोकनामा ३.५ मिटर सतर्कताको तह रहेकोमा ३.५६ मिटर रहेको र तीव्र गतिमा बढ्दो रहेका बताए । काठमाडौंमा स्वचालित बाढी मापन केन्द्रहरू नौ वटा रहेका छन् । 

अति उच्च जोखिममा परेका जिल्लाहरुमा भारी वर्षा र त्यसबाट उत्पन्न हुने जोखिम बाढी र पहिरो र डुबानलाई केन्द्रित गरी वर्गीकरण गरिएको बताए । यसबारे सतर्कताका लागि १५ लाख भन्दा बढी एसएमएस पठाइएको बताउनु भयो । क्याटोगरी दुई र तीनमा रहेका जिल्लाहरुका लागि दोस्रो चरणमा एसएमएस पठाइने स्पष्ट पारे। वर्षाले खतराको तह पार गरिसकेका बारा, पर्सा र रौतहटमा अहिले साइरन बजाइएको बताए ।  बारा, पर्सा र रौतहटमा दुई घण्टाको अन्तरालमा एक सय ३० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । सय मिलिमिटर वर्षा भएकोलाई भारी वर्षा भनिन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?