आज दिउँसो बागमती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

लोकपथ
343
Shares

काठमाडौं । आज दिउँसो बागमती, कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो नै केही स्थानमा भारी वर्षा हुनसक्ने जनाएको हो ।

महाशाखाले असोज १६ गते बिहान जारी गरेको मौसम पूर्वानुमानमा आज दिउँसो सबै प्रदेशमा मौसममा बदली रहने जनाएको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी केही स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागहरूमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै आज दिउँसो नै कोसी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यसै गरी आज राति पनि सबै प्रदेशमा मौसममा बदली रहने महाशाखाले जनाएको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी तथा तराईका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत रहको महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार राति ८ बजे एक सूचना जारी गर्दै नारायणी, बागमती, कमला र कोसी नदीमा पानीको बहाव बढेर खतरा तह पार गर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ ।

महाशाखाले बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही र रौतहट लगायतका जिल्लामा जोखिम बढी हुने भएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।

दसैँको टीका र जमरा ग्रहण गर्न यात्रा गर्नुपर्ने हुनसक्ने भन्दै महाशाखाले अत्यावश्यक नभएसम्म यात्रा नगर्न तथा रातिको समयमा सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?