काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान परिस्थितिमा राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दसैँलाई पारिवारिक र सांस्कृतिक रूपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन् ।
विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने पनि घोषणा गरेका छन् । जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिक रूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।
‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ । जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्यव्यवस्थाले समेट्नै पर्नेमा पनि जोड दिएका छन् । नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारले त्यसलाई पूरा गर्नुपर्नेमा उनको जोड रहेको छ ।
‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ । विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ,’ पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया