काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ एकीकृत निर्देशन जारी गर्दै निर्यातमुखी उद्योग, महिला रोजगारी सिर्जना गर्ने संस्था तथा असामान्य परिस्थितिबाट प्रभावित व्यवसायलाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
निर्देशनअनुसार कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमुखी उद्योग सञ्चालन गर्ने संस्थाले न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने सर्त पूरा गरेमा, इजाजतप्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा १ प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा उपलब्ध गराउन सक्नेछन् ।
यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा संलग्न कर्मचारीलाई तलब–भत्ता जस्ता सुविधाका लागि आधारदरमा बढीमा ०.५० प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्न सकिनेछ ।
यस्तो कर्जा एक वर्ष वा सञ्चालनमा आउन लाग्ने अवधिभित्र जुन कम हुन्छ, त्यति अवधिका लागि प्रवाह हुनेछ । यसमा लाग्ने ब्याजदरमा ६ महिनासम्म २ प्रतिशत ब्याज सरकारबाट अनुदान स्वरूप प्राप्त हुनेछ । त्यस्तो कर्जाका लागि आगामी पुस मसान्तभित्र रोजगारदाताले आवेदन दिनुपर्नेछ ।
त्यसैगरी, प्रदर्शनबाट प्रभावित व्यावसायिक प्रतिष्ठानका सवारीसाधन वा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा ८० प्रतिशत ऋण मूल्य अनुपात कायम गरी कर्जा उपलब्ध गराइने व्यवस्था पनि निर्देशनमा उल्लेख छ ।
यस्तै, रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण अवरुद्ध कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित इजाजतप्राप्त संस्थाले आगामी पुस मसान्तभित्र पुनर्तालिकीकरण गर्न सक्नेछन् । पुनर्तालिकीकरण गरिएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमा नै कायम हुने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया