काठमाडौं । नेकपा माओवादी केन्द्रको वर्तमान केन्द्रीय समिति भंग भएको छ ।
काठमाडौंको कमलादीमा बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकले वर्तमान केन्द्रीय कमिटी भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णयहरु सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । उनका अनुसार केन्द्रीय कमिटी भंग भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पद समेत अध्यक्षका रुपमा रहने छैन । साथै सबै पदाधिकारीहरुको पद खारेज भइ आगामी विशेष महाधिवेशनपछि नयाँ नेतृत्व चयन हुनेछ ।
अध्यक्ष पदमा नरहेका प्रचण्ड महाधिवेशन आयोजक समितिको संयोजक रहेको प्रवक्ता सापकोटाले बताए ।
त्यस्तै मंसिरको अन्तिम साता हुने विशेष महाधिवेशनमा जेनजी युवाहरुको भावनालाई प्रतिनिधित्व गर्ने गरी नयाँ नेतृत्व चयन हुने उनको दाबी रहेको छ ।
त्यसो त १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेका प्रचण्ड ०५२ सालदेखि निरन्तर पार्टी नेतृत्वमा रहँदै आइरहेका छन् । हालैको जेनजी आन्दोलनपछि भने माओवादी केन्द्र नयाँ नेतृत्व चयनको प्रक्रियामा पुगेको हो ।
यसैगरी केन्द्रीय कमिटी भंग भएको अवस्थामा पार्टीका दैनिक कामकारबाही सञ्चालन गर्नका लागि सचिवालय बनाइने छ । उक्त सचिवालय पदाधिकारीहरुको बन्ने समेत प्रवक्ता सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया