देउवालाई सन्यास लिन पत्र पठाएपछि जुम्ला कांग्रेसमा भाँडभैलो

लोकपथ
17.5k
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि खासगरी नेपाली कांग्रेस पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने आवाज बाहिरै सुनिन थालेको छ ।

केही दिनअघि पार्टीका केन्द्रीय महामन्त्री गगन थापाले यो हालतले पार्टी अघि बढ्न नसक्ने भन्दै बरु आफू पद छाड्न तयार रहेको बताए । उनले सांकेतिक रुपमा पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्न खोजिएको भन्दै टिप्पणी भइरहेको छ । यसै बेला नेपाली कांग्रेसका जुम्लाका जिम्मेवार नेताहरुले नै सभापति शेरबहादुर देउवालाई पद छाड्न दबाब दिँदै पत्र पठाएपछि जिल्ला राजनीतिमा तरंग पैदा भएको छ ।

नेपाली कांग्रेस जुम्लाका कार्यवाहक सभापति कार्मा बुढासहित ८ नेताहरुले विभिन्न मागसहित देउवालाई पत्र पठाएपछि तरंग पैदा भएको हो ।

कार्मासहित क्षेत्रीय कावा सभापति (क) तिलक प्रसाद न्यौपाने, अर्का क्षेत्रीय सभापति (ख) काली बहादुर बुढा, चन्दननाथ नगरपालिकाका सभापति रवि बहादुर थापा, गुठिचौर गाउँपालिका सभापति टेकबहादुर भण्डारी, हिमा गाउँपालिका सभापति नरबहादुर शाही, पातारासी गाउँपालिका सभापति गोरखबहादुर बोहोरा र तातोपानी गाउँपालिकाका सभापति धनप्रसाद चौलागाईँसहितका नेताहरुले देउवालाई पत्र पठाएका थिए ।

उनीहरुले बिहीबार सभापति देउवालाई पत्र पठाउँदै विशेष अधिवेशन र महाधिवेशनको माग समेत अघि सारेका छन् ।

‘तत्काल विशेष अधिवेशन तथा महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरी आउँदो फागुन २१ गते तोकिएको निर्वाचनमा नेपाली कांग्रेसको भावी प्रधानमन्त्री स्पष्ट पार्दै तोकिएको व्यक्तिको नेतृत्वमा जिम्मेवार तबरबाट सहभागिता जनाउनुपर्ने,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै पटकपटक पार्टीको नेतृत्व र देशको नेतृत्वमा पुगेको व्यक्तिले राजनीतिक सन्यास लिनुपर्ने माग उठाएका छन् ।
‘पटकपटक पार्टीको पद र सार्वजनिक पद दुवै धारण गर्ने नेताहरुले अब पार्टीको प्रत्यक्ष जिम्मेवारीबाट सन्यास लिएर अभिभावकको भूमिकामा सल्लाहकारको रुपमा बस्नुपर्ने आवश्यक्ता देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनीहरुले पार्टीमा एक व्यक्ति एक पदको धारणा अघि सारेका छन् । साथै पार्टीको पद र सार्वजनिक पदको अवधि समेत किटान गर्न माग नेताहरुले गरेका छन् ।

पत्र हेर्नुहोस्:

यता वर्तमान जुम्ला पार्टी सभापति रहेका कर्णबहादुर शाहीले पुनः पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै उक्त पत्र आधिकारिक नभएको स्पष्टीकरण दिएका छन् ।

जिल्लाको आधिकारिक लेटरहेडको प्रयोग गरी पत्र पठाएको तर उक्त पत्र संस्थागत र आधिकारिक नभएको, केवल व्यक्तिगत धारणा रहेको भन्दै खण्डन गरेका छन् ।

‘मिति २०८२ असोज २ गतेका दिन नेपाली कांग्रेस जुम्लाको लेटरप्याडमा केही साथीहरुले नेपाली कांग्रेस केन्द्रीय पार्टी सभापतिको ध्यानाकर्षण भनि लेखेको पत्रको व्यहोरा नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाको संस्थागत र आधिकारिक धारणा नभइ निजहरुको निजी धारणा रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छु,’ जिल्ला सभापति शाहीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?