डा. तोसिमा कार्कीले रास्वपा ‘रिफर्मेसन’ गर्नुपर्ने भन्दै बुझाइन् पार्टीलाई पत्र : नेतृत्व, सिद्धान्त र नीतिप्रति उठाइन् प्रश्न

लोकपथ
3.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी रूपान्तरणमा जोड दिएकी छिन् । पार्टी (रास्वपा) को नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय भएको उनको भनाइ छ । 

विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनले पार्टी रिफर्मेसन सम्बन्धमा संस्थापक सभापतिलाई पत्र लेख्दै आफ्ना ४ बुँदे धारणा राखेकी छिन् । पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचनाको विषयलाई उनले तेस्रो बुँदामा राखेकी छिन् । 

रास्वपाका महामन्त्रीलाई बोधार्थ दिइएको पत्रमा उनले भनेकी छिन्, ‘मुलुकको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकांक्षाबमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।’

उनले भनेकी छिन्, ‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठूलो आशा र भरोसापूर्वक हेरिरहेका छन् । तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसाथ गर्नैपर्छ । अझै यो वर्तमान संवेदनशील परिस्थितिमा हामीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्यान्डेटसहित अघि बढ्न मुख्य शक्तिको रूपमा पार्टीलाई विकास गर्नुपर्नेछ । यसका लागि हामीले यथाशीघ्र केही महत्त्वपूर्ण निर्णय र कार्यहरू गर्नुपर्नेछ ।’

उनले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७२ जनाको निधन, १ हजार भन्दा बढी घाइते र देशभरि विभिन्न तत्त्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण देशलाई भएको अकल्पनीय क्षतिका कारण नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको पनि बताएकी छिन् । 

उनले भनेकी छिन्, ‘यस्तो अवस्थामा हामीले जेनजी मात्रै होइन जेन अल्फा समेतका भावनालाई समावेश गर्ने गरी राष्ट्रका सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।’

दोस्रो बुँदामा उनले भनेकी छिन्, ‘जेनजीको आह्वानमा भएको सो तेस्रो जनआन्दोलनपछिको अवस्थामा नेपाल राष्ट्र समग्रमा पहिलेकै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ । यसै क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्त्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्नै पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?