काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख प्रकट गर्दै आन्दोलनमा गोली हान्ने आदेश सरकारले नदिएको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु ।’
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २४ गते नै प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले शुक्रबार संविधान दिवसका अवसरमा जारी गरेको वक्तव्यमा भनेका छन्, ‘हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ । यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्ने छ । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ । हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ । तर, यो कुरा समय छँदै बुझ्नुपर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।’
उनले इतिहासमा काजी भीम मल्लको मृत्युदण्डलाई स्मरण गर्दै असन्तोषलाई यथार्थभन्दा बाहिर विस्तार गर्दा पछुतो मात्र बाँकी रहने टिप्पणी गरेका छन् ।
‘हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो,’ ओलीले भनेका छन्, ‘यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्–झन् गाढा सम्झना गराउने छ ।’
उनले सबै पुस्ताका नेपालीलाई संविधान र सार्वभौमसत्ता जोगाउन एकजुट हुन आह्वान गरेका छन् । ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशलाई यो संकटबाट जोगाउन सक्छ,’ ओलीले भनेका छन् ।
उनले देशको सार्वभौमसत्ता र संविधानलाई जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । सात दशक लामो संघर्षपछि नेपाली जनताले आफैँले निर्वाचित संविधानसभाबाट बनाएको संविधान जारी गरेको दिनलाई ऐतिहासिक भनेर उनले स्मरण गरेका छन् । ‘संविधान नेपाली जनताले आफैँका लागि लेखेको भविष्य रेखा हो,’ उनले भनेका छन् ।
उनले संविधान जारी गर्दा देशले भोगेका चुनौतीहरूलाई सम्झँदै नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न दबाबलाई नेपाली जनताले परास्त गरेको उल्लेख गरेका छन् । ‘संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना निर्माण हुँदै थियो,’ उनले स्मरण गरेका छन् ।
उनले आन्दोलनमा घुसपैठ गराई हिंसा मच्चाइएको भन्दै मृतक युवाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया