काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनै पनि किसिमको विग्रह हुन नदिने दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार च्यानलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेलाई कसैले किस्तामा हालेर दिएको पार्टी नभएको बताउँदै धुलो टक्टक्याएर पुनः उठ्ने प्रतिबद्धता व्यक्त गरे । पोखरेलले भने, ‘एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, भुलुक्क उम्लिएको पार्टी होइन । यो असंख्य अग्रज र शहीदले संघर्ष गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । हामी यो पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरी सच्याएर अघि बढ्ने बताए । उनले एमालेभित्र विग्रहको आशंका गर्नेहरूमाथि लक्षित गर्दै भने, ‘हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ तर विग्रह हुन दिँदैनौँ ।’
उनले सामाजिक एकता खल्बिए राष्ट्रिय एकता कमजोर हुने चेतावनी दिँदै नेपाल बहुजाती, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले भरिएको देश भएकाले राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए ।
सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरू बेला बेला देखिने गरेको उल्लेख गर्दै उनले भने, ‘एमालेले सामाजिक सद्भाव खल्बल्याउन चाहने जुनसुकै शक्तिलाई पनि पराजित गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया