काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
बिहीबार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पोखरेलले भने, ‘जेनजी पुस्ताका मागहरूलाई सम्बोधन गरिनुपर्छ भन्ने हाम्रो पार्टीको वक्तव्य जारी भए पनि त्यसको भोलिपल्ट जुन वितण्डा मच्चाइयो, त्यो एकदमै षड्यन्त्रपूर्ण छ । यस क्रममा राज्यका महत्त्वपूर्ण संस्थाहरू, जननिर्वाचित प्रतिनिधि संस्थाहरू र विभिन्न राजनीतिक दलका कार्यालयहरूमा आगजनी भएको छ । हाम्रो पार्टी कार्यालय समेत जलाइयो र यहाँ रहेका बहुमूल्य चिजहरू कुनै पनि बाँकी छैनन् ।’
उनीद्वारा जारी गरिएको वक्तव्य अनुसार, यस विध्वंसको पछाडि बहुदलीय लोकतान्त्रिक प्रणाली अस्वीकार गर्ने तत्त्वहरू र व्यवस्था विरोधीको हात रहेको अनुमान गर्न सकिन्छ । पोखरेलले यस्तो हिंसा र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
‘यो निकै षड्यन्त्रपूर्ण र अपराधिक छ । यसको हामी सबैले विरोध र भर्त्सना गर्नुपर्छ र नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढ्नुपर्छ, ‘उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया